नयाँ सभामुख चयन प्रक्रिया सुरु आज मनोनयन दर्ता हुँदै

काठमाडौँ ७ माघ । प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि मंगलबारदेखि औपचारिक रुपमा प्रक्रिया सुरु हुँदैछ।नयाँ सभामुखका लागि मंगलबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ । नयाँ सभामुख चयनका लागि माघ १२ गते प्रतिनिधिसभामा चुनाव हुनेछ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सोमबार बैठकको अध्यक्षता गर्दै सभामुखको चुनाव १२ गते गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए ।
सोही अनुसार संसद सचिवालयले सार्वजनिक गरेका निर्वाचन कार्यतालिका अनुसार मंगलबार बिहान ११ देखि दिउँसो २ बजेसम्म मनोनयन गर्न सकिने संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए। परेका उम्मेद्वारीको सूचि मंगलबार दिउँसो साढे दुई बजे सार्वजनिक गरिनेछ।

तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणी प्रयासको आरोप लागेपछि गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा पछि सभामुख पद रिक्त रहँदै आएको थियो। नेकपाले सभामुखमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। विपक्षी कांग्रेसले भने अहिलेसम्म उमेद्वारी दिन नदिने निर्णय गरेको छैन।

सोमबार उपसभामु शिवमाया तुम्बाहाम्फेले समेत पदबाट राजीनामा दिएपछि सभामुख चयनको प्रक्रिया सुरु भएको हो। सभामुखपछि उपसभामुख चयनको प्रक्रिया सुरु हुनेछ । देशसञ्चार बाट

Facebook Comments