नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गतेबाट

काठमाडौं पुस ४ । प्रतिनिधि सभाको नयाँ सभामुख चयनको प्रक्रिया यही पुस ११ गतेबाट शुरू हुने भएको छ ।संसद् भवन बानेश्वरमा शुक्रवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनको प्रक्रिया पुस ११ गते १ बजे बस्ने बैठकबाट शुरू गर्ने निर्णय गरेको हो ।

संघीय संसद्को हिउँदे अधिवेशन आजबाट शुरू हुँदैछ । हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठक आज अपराह्न ४ बजे बस्दैछ ।आजको बैठकमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने र पूर्व सांसदहरूको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

अर्को बैठक पुस ११ गते बस्ने गरी निर्णय भएको समिति सदस्य समेत रहेका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए ।यौन दुर्व्यवहारको आरोपमा कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।महरा हाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा छन् ।

Facebook Comments