नदीपुर यूनाईटेड क्लवको रक्तदान,२८ यूनिट रक्त संकलन-युवाको कामको उच्च मूल्यांकण-प्रजु

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ०७

Rabindra Bdr Praju-President ward num 3, Pokhara

नदीपुर यूनाईटेड क्लवले आज पोखरा नदीपुर ३ मा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं ३ तथा नेपाल रेडक्रस सोसाईटी, पोखरा उपशाखा २, ३ को समन्वयमा आज कारपाकेली परिवारको भवनमा आयोजना गरेको रक्तदानमा २८ जना युवाले रक्तदान गरेका हुन् ।

प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ३ का अध्यक्ष रविन्द्र बहादुर प्रजुले पहिलो रक्तदाता पुष्पा पुनलाई व्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको आरम्भ गर्नुभएको थियो ।

त्यस अवसरमा प्रमुख अतिथि प्रजुले रेडक्रस कास्कीबाट रक्तदान कर्याक्रमका बारेमा जनाउ भएपछि नदीपुर यूनाईटेड क्लवका युवाहरुले आयोजनाको जिम्मा लिएर कार्यक्रम सम्पन्न गरेकोमा आभार व्यक्त गर्नुभयो । वडाले युवाको कामको उच्च मूल्यांकन गरेको बताउँदै उहाँले उपस्थित सबैलाई सामाजिक दूरी कायम गरेर रहन, घरमै बस्न तथा वडामा नयाँ कोहि मानिस आएको थाहा भए तुरुन्त वडा कार्यालय वा नजिको प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

नेपाल रेडक्रस सोसाईटी, पोखरा उपशाखा २, ३ का सभापति खगेन्द्र पराजुलीले लकडाउनको समयमा रगतको कमि हुन नदिनको लागि वडा नं २, ३ र क्लवहरुसंग सहकार्य गरेर रक्तदान कार्यक्रम आयोजना गरिएकोमा युवाको सहभागिता र उत्साह देखेर आउँदा दिनमा पनि सहकार्य जारि रहने बताउनु भयो ।

पराजुलीले कास्की रेडक्रस नेपालभर मै उत्कृष्ट शाखा रहेको जानकारी गराउँदै जोखिममा परेको जो कसैको जीवनलाई जोगाउन रगत नै चाहिने भएकोले रेडक्रसको यस अभियानमा नदीपुर यूनाईटेड क्लवका सदस्यहरुले साथ दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । पराजुलीले आजै पोखरामै बिहान वडा नं ३ मा ६ यूनिट तथा भिमसेन टोलमा ५३ र कारपाकेली भवनमा आयोजना गरिएको रक्तदानमा गरी ८६ जनाले रक्तदान गरेको जानकारी दिनुभयो ।

नदीपुर यूनाईटेड क्लवका अध्यक्ष नवीन आले मगरले रेडक्रस तथा वडा नं ३ बाट रक्तदान आयोजनाको कुरा आएपछि खुसिका साथ कार्यक्रम आयोजना गरिएको बताउनु भयो । छोटो समयको तयारीमा हामीले २८ यूनिट रक्त संकलन गर्न सक्यौं, आलेले बताउनु भयो ।

आलेका अनुसार देशमा लकडाउन शुरु भएपछि दैनिक खानपानमा अफ्टेरो परेका दाजुभाई दिदि बहिनीको लागि २७ दिनसम्म पोखरा विभिन्न स्थानमा खाना खुवाउने काम गरेको बताउनु भयो ।

Facebook Comments