दोहोरी प्रतिष्ठानको सातौं महाधिवेशनमा ११३५ मत खस्यो

पोखरा, मंसिर ८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौं केन्द्रिय महाधिवेशनमा ११३५ मत खसेको छ । मंसिर ६ देखि पोखरामा भएको महाधिवेशनमा १३४८ मतदाताहरुको सहभागिता थियो

मतगणना आइतबार (आजै) ४ बजेबाट सुरु हुने निर्वाचन समितिले जानकारी गराएको छ । निर्वतमान अध्यक्ष बद्री पंगेनीको ३ वर्षे कार्यकाल पश्चात नयाँ नेतृत्व चयनका लागि उक्त अधिवेशन गरिएको हो ।

निर्वाचन प्रतिष्ठानको अध्यक्ष, तृतिय उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र सदस्य पदका लागि भएको हो । ५७ जना कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, उप—महासचिव, सांगठनिक सचिव, महिला सचिव र सह—कोषाध्यक्ष यसअघिनै निर्विरोध चयन भएका छन् ।

अध्यक्षका आकांक्षीहरु लोकदोहोरी गायक विष्णु खत्री र गीतकार रमेश बिजी रहेका छन् । बिजी यसअघि प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष थिए भने विष्णु अघिल्लो निर्वाचनमा बद्री पंगेनीसंग पराजय भएका थिए ।

देशका चर्चित कलाकारहरुको पोखरामा बाक्लो उपस्थिति देखिन्थ्यो । पोखरा सभागृह परिसरमा भएको मतदान कार्यक्रममा चर्चित अनुहारहरुले मतप्रदान गरेका छन् ।

निर्वाचन समितिका अनुसार आजै मतगणना गरी अध्यक्ष सहित नयाँ कार्यसमितिलाई प्रमाण पत्र पनि आजै वितरण गरिनेछ । देशभरका ५७ जिल्ला बाट प्रतिनिधिहरु पोखरा आएका छन् । यस्तै प्रतिष्ठानले विदेशमा समेत आफ्नो शाखा विस्तार गरेकाले ८ देशबाट समेत प्रतिनिधिहरुको सहभागिता थियो ।

Facebook Comments