दोश्रो सृजना कप छात्र÷छात्रा भलिबल प्रतियोगिता फागुन ६ देखि १० सम्म हुने

सन्देश श्रेष्ठ पोखरा, माघ १९

पोखरामा फागुनको पहिलो साता सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा फागुन ६ गतेदेखि १० गतेसम्म सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता हुने भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ अघिल्लो वर्षदेखि शुरु भएको प्रतियोगिताको यो दोश्रो संस्करण गर्न लागेको आयोजक कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराले आइतबार पत्रकार भेटघाट गरी जानकारी गराएको हो ।

प्रतियोगिता पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउन सक्नेछन् । सहभागिताका लागि कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि टिम लिएर विद्यालय आउनुपर्ने सृजना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराईले बताए ।

भलिबलको जग मानिने सामुदायिक विद्यालयबाट खेलाडी उत्पादन शून्य प्रायः भएपछि भलिबलमा पुर्नजागरण ल्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए । भलिबलको राष्ट्रिय टिममा हिजो कास्कीको बर्चस्व थियो,‘उनले भने,‘तर अहिले समय फेरिएको छ, कास्कीका खेलाडीहरु कमैमात्र राष्ट्रिय टिममा छन्, खेलाडी उत्पादन ह्वात्तै घटेको छ, अझ सामुदायिक विद्यालयमा त भलिबल खेल खस्किएको छ ।’

उनले सामुदायिक विद्यालयमा खस्किएको भलिबल उकास्ने अभिप्रायले सामुदायिक विद्यालय स्तरिय छात्र÷छात्रा भलिबल प्रतियोगिता आयोजना गरेको प्रष्ट्याए । प्रतियोगिताले खेलाडी उत्पादन गर्न मद्धत पुग्छ भन्ने हाम्रो विश्वास हो,‘उनले भने,‘यसले सामुदायिक विद्यालयदेखि गाउँघरसम्म भलिबल खेलप्रति जागरण पैदा गराउँछ, भलिबल खेलप्रति आकर्षण जगाउँछ ।’

प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगिताका लागि फागुन ५ गतेसम्म नाम दर्ता गराउन सकिने र टिम दर्ताका लागि २÷२ हजार शुल्क लाग्ने सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेलले बताए ।

प्रतियोगितामा उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई ५०÷५० हजार, उपबिजेतालाई ३०÷३० हजार र तृतीय हुने विद्यालयलाई १५÷१५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५÷५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई १÷१ थान भलिबल प्रदान गरिने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न ९ लाख ५५ हजार खर्च लाग्ने आयोजकले अनुमान गरेका छन् । प्रतियोगिताबाट १० लाख ५० हजार आम्दानी गरी ९५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको पराजुलीले बताए । बचत रकम भलिवल खेलकै विकास र बिस्तारका लागि खर्च गरिने उनले बताए ।

Facebook Comments