देशको सीमामा आइपुगेका आफ्ना नागरिकलाई देश पस्न नदिनु अत्यन्त गैर जिम्मेवार र गैरकानूनी कार्य-शंकर भण्डारी

अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र १९-कोरोना भाईरसको महामारीले विश्व आक्रान्त भएको बेला आफ्ना नागरिकको सुरक्षाका लागि विश्वभरका सरकारहरुले सम्भव भएसम्मका उपाययुद्धस्तरमा अवलम्बन गरिरहेका छन् । यस्तो अवस्थामा संसारभर रहेका नेपालीको सुरक्षामा नेपाल सरकार पूर्णत जिम्मेवार बन्नु आवश्यक छ । सरकारले पछिल्लो समय चालेका सकारात्मक कदमहरुकालागि हार्दिक धन्यवाद दिन चाहन्छु तर यी प्रयत्नहरु यो विषम परिस्थितिको सामना गर्न पर्याप्त भने छैनन् ।

नेपालको संविधानको मौलिक हक अन्र्तगत धारा ४५ मा देश निकाला विरुद्धको हक सुनिश्चित गरिएको छ भने धारा १८ ले समानताको हक प्रत्याभूत गरेको छ । यसले कुनै पनि नागरिकलाई देश निकाला गर्न नपाउने र सबै नागरिकलाई राज्यले समान व्यवहार गर्नुपर्ने व्यवस्था सुनिश्चित गरेको व्यहोरा स्मरण गराउन चाहन्छु । साथै संविधानको धारा १६ मा प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने हक प्रत्याभूत गरिएको छ ।धारा ५२ ले राज्यले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व तोकेको छ । यसरी संविधानबाट प्रत्याभूत अधिकारलाई कुण्ठित गर्ने गरि नागरिकलाई देश पस्न नदिनु, अवरोध खडा गर्नु अत्यन्त दुखद विषय हो ।

यसमा नेपाली कांग्रेस तरण विभाग गम्भिर असहमति जाहेर गर्दछ । अन्य देशले आफना नागरिक खोजीखोजी जहाज चार्टर गरेर देश फिर्ता गरेको देख्दा देख्दै पनि कर्तव्य बोध नहुनु आश्चर्यजनक हो । विदेशमा रहेका नेपाली नागरिकको संरक्षण, उद्धार र देश फिर्ताकालागि सरकारले नै पहल गर्नुपर्नेमा कैयन दिनको कठिन यात्रा पूरा गरेर देशको सीमामा आइपुगेका आफ्ना नागरिकलाई देश पस्न नदिनु अत्यन्त गैर जिम्मेवार र गैरकानूनी कार्य हो ।

यसलाई तत्काल सम्वोधन गर्न र उनीहरुको संविधानको धारा ३५ बमोजिमको स्वास्थ्य सम्बन्धी हकको पनि सुनिश्चितता गर्न म सरकारसंग अनुरोध गर्दछु । यो वा त्यो कुनै पनि वहानामा नागरिकको संवैधानिक हकलाई कुण्ठित गर्ने कार्यलाई कदापी स्वीकार गर्न नसक्ने व्यहोरा अनुरोध गर्दछु ।- शंकर भण्डारी प्रमुखः तरुण विभाग एवं केन्द्रिय सदस्य नेपाली कांग्रेस

Facebook Comments