दुई महिनामा ६ लाख नयाँ करदाता थपिए

काठमाडौं । आर्थिक वर्ष ०७६/७७ को पहिलो दुई महिना (साउन–भदौ)मा कबिर ६ लाख नयाँ करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार, यो संख्या व्यावसायिक स्थायी लेखा नम्बर, व्यक्तिगत स्थायी लेखा नम्बर र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको कूल हो ।

सरकारले चालु आर्थिक वर्ष ०७६/७७ बाट सबै व्यक्तिले अनिवार्य प्यान नम्बर लिनुपर्ने प्रावधान ल्याएको थियो । यसको कार्यान्वयन उत्साहजनक देखिएको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार साउनमा कूल २ लाख ९० हजार ९ सय १४ प्यान नम्बर जारी भएका थिए । भदौमा त्यो संख्या अझै बढेर ३ लाख ५ सय ९३ जना पुगेको छ ।

साउनमा २ लाख ५४ हजार ४ सय ९ जना व्यक्तिले व्यक्तिगत प्यान नम्बर लिएका थिए । भदौमा यो संख्या बढेर २ लाख ५७ हजार ३ सय ८३ जना पुगेका छन् । साउनमा ३६ हजार कम्पनी तथा व्यक्तिले व्यावसायिक स्थायी लेखा नम्बर लिएका थिए भने भदौमा ४२ हजार ५ सय ११ कम्पनी तथा व्यक्तिले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् ।

व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने प्रावधान सरकारले चालु आर्थिक वर्षबाट अनिवार्य गरेको हो । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा सरकारले ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’ को नीति लिएको थियो । यस नीति अनुसार नेपालमा काम गरिरहेका विदेशी नागरिकले समेत अनिवार्य स्थायी लेखा नम्बर लिनु पर्ने हुन्छ ।

साढे २७ लाख पुगे करदाता

भदौ मसान्तसम्म प्यानमा दर्ता हुने व्यक्तिगत करदाताको संख्या १५ लाख ४ हजार २ सय ३३ रहेको छ । व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या भने १२ लाख ५६ हजार ९९ पुगेको छ।

Facebook Comments