दिल्लीमा आपको झाडुले बढारिए भाजपा र कांग्रेस

कांग्रेसका ६७ उम्मेदवारको जमानत जफत

माघ २९, २०७६ काठमाडौं : भारतको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले शानदार जीत हात पारेको छ। विधानसभाका लागि भएको निर्वाचनमा फेरि पनि आम आदमी पार्टी नै सत्तामा आएको हो। सन् २०१२ मा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले नयाँ पार्टीका रुपमा आम आदमी पार्टी गठन गरेका थिए। अन्ना हजारेको लोकपाल आन्दोलनका सहयोगी केजरीवालले सन् २०१३ को विधानसभा निर्वाचनमा पहिलो सफलता हात पारे। दिल्लीमा तीन पटककी मुख्यमन्त्री शीला दीक्षितलाई २५ हजार मतले हराएर चर्चाको शिखरमा पुगेका केजरीवालले बहुमत भने ल्याउन सकेनन्। २८ सिट जितेको आम आदमी पार्टीले ८ सिट जितेको कांग्रेससँग मिलेर सरकार बनायो। केजरीवाल मुख्यमन्त्री बने। तर गठबन्धनमा विवाद भएपछि सरकार ४९ दिनमै सरकार ढल्यो। तर सन् २०१५ मा भएको विधानसभा चुनावमा केजरीवालको पार्टीले ठुलो सफलता पायो। सन् २०१५ को विधानसभा निर्वाचनमा आम आदमी पार्टीले ६७ सिट जितेको थियो। ३ सिट जितेको भाजपाले ५ स्थान थपेको छ तर सरकार नै बनाउने उसको दाबी हावामा परिणत भएको छ। जीतपछि आम आदमी पार्टीका मुखिया केजरीवाल दिल्लीको सत्तामा तेस्रो पटक आउने भएका छन्। भारतको केन्द्रीय सत्ता चलाइरहेको भारतीय जनता पार्टीले दिल्ली विधानसभा चुनावलाई प्रतिष्ठाको विषय बनाउँदै सबै शक्ति लगाएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहदेखि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसम्म दिल्लीको मैदानमा उत्रिए। तर आम आदमी पार्टीले आफ्नो चुनाव चिन्ह झाडुले भारतीय जनता पार्टीलाई बढारेको छ। लोकसभा चुनावमा भाजपालाई टक्कर दिएको भारतीय राष्ट्रिय कांग्रेस दिल्लीमा शून्यमा झरेको छ। उसका ६७ उम्मेद्वारको जमानत नै जफत भएको छ। नागरिकता कानुनको संशोधनको विरोधमा भारतमा सरकारविरुद्द प्रदर्शन भइरहेको छ। दिल्लीको शाहिनवागमा पनि २ महिनायता महिलाको धर्ना कायमै छ। भाजपाले यो चुनावमा यसलाई सबैभन्दा ठुलो मुद्दा बनाएको थियो। भाजपाका कतिपय नेताले यो चुनावलाई भारत र पाकिस्तानबीचको युद्दका रुपमा समेत व्याख्या गरे। जनतालाई धार्मिक रुपमा ध्रुविकरण गरेर फाइदा लिन खोजेको भाजपालाई दिल्लीका जनताले नराम्रोसँग बढारेका केजरीवालले भने चुनावमा आफ्ना काम देखाउँदै मत मागेका थिए। त्यो नै आम आदमीको ठूलो सफलता हो। सन् २००६ को रामोन म्यागासेसे पुरस्कार  विजेता केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बन्ने भएका हुन्।श्रोतःथाहाखबर

Facebook Comments