दरबाङमा कोशेली घर

म्याग्दी फागुन १५ रासस

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा कोशेली घर सञ्चालन भएको छ । आत्मनिर्भर व्यावसायिक कृषि सहकारी संस्थाले कृषि, पशुजन्य र घरेलु उद्योगका उत्पादनको बजारीकरण गर्न कोशेलीघर सञ्चालन गरेको हो ।

दरबाङ र आसापासका क्षेत्रमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तु सङ्कलन गरेर बजारीकरणमा सघाउन कोशेलीघर शुुरु गरेको संस्थाका अध्यक्ष तिलकबहादुर सिंहले बताउनुभयो । कृषकले उचित मूल्य र वस्तुले बजार नपाउने तथा उपभोक्ताले महङ्गोमा खरिद गर्नुपर्ने समस्या हटाउन कोशेलीघरले सहयोग पुग्ने अपेक्षा गरिएको छ । विचौलीयाको समस्या न्यूनीकरण भई कृषक तथा उद्यमीलाई सहयोग पुग्ने अध्यक्ष सिंहले बताउनुभयो ।

कृषकबाट तरकारी, फलफुल, गेडागुडी र खाद्यान्न खरिद गरी उपभोक्तालाई स्वस्थ वस्तु सुपथ मूल्यमा उपलब्ध गराउने संस्थाको लक्ष्य छ । कोदो, मकै, भटमास, गहत, तरुल, फापर, बोडी, सेल्टुङ, आलु, किबी, सुन्तला, केरा, साग, धरजा, मुला, सिमी, केराउलगायत कृषिउपज सङ्कलन गरेर बिक्री गर्न थालिएको छ ।

यसैगरी संस्थामार्फत ढाडखर्कमा व्यावसायिक गाईभैँसीपालन गरेर दूध उत्पादन र बिक्री वितरण गर्ने तयारी गरेको छ । दूध, घ्यू, खसी, कुखुरालगायत पशुपक्षीको बजारीकरणमा सघाइने अध्यक्ष सिंहले बताउनुभयो ।

संस्था आफैँले लगानी गरेर उपल्लो दुखुमा व्यावसायिक भटमास र सिमीखेती गर्न १० वर्षलाई १५० रोपनी जग्गा लिएको छ । जग्गाधनीले बाझिएको जग्गा निःशुल्क उपलब्ध गराउने लिखित सम्झौता गरेका छन् । कूल १५३ जना शेयर सदस्य रहेको संस्थाले माघको दोस्रो हप्तादेखि कोशेलीघर सञ्चालन गरेको थियो ।

दरबाङ गुरिल्ला र धौलागिरि चक्रीय पदमार्गको प्रवेशद्वार हो । स्वदेशी तथा विदेशी पर्यटकले कोशेली घरबाट सामान खरिद गर्न सक्नेछन् । साविक दरबाङ गाविसका विभिन्न बस्तीलाई फरकफरक बालीको पकेट क्षेत्र बनाइएको छ ।

पकेट क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणलाई सहज र कृषकलाई व्यावसायिक बनाउन सहकारी संस्थामार्फत पहल गरिएको दरबाङका वडाध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो । हावापानी र सम्भावनाका आधारमा दिच्याममा किबी, ढाडखर्कमा तरकारीको पकेट क्षेत्र बनाइएको छ ।

कोशेलीघरबाट दरबाङका साथै बिम, देविस्थान, ओखरबोट, रुम, निस्कोट, धवलागिरि र तमानखोला गाउँपालिकाका कृषकलाई सुविधा पुग्ने उहाँले बताउनुभयो । कृषि उपज किन्न सहकारीका कर्मचारी कृषकका घरमै पुग्ने गरेका छन् । उत्पादन वृद्धि भएपछि सहकारीमार्फत निकासीकोसमेत व्यवस्था मिलाउने जनाएको छ ।

Facebook Comments