तीन कविता-१३ गते, कृष्ण सेन ईच्छुक-१८ औं स्मृति दिवसको अवसरमा

आरजू/अनलाइनअन्नपूर्णपोखरा, जेष्ठ १३

कृष्ण सेन ईच्छुक – जेल

म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु, तिमी पहराबाहिर छौ
म यातना–गृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक पर्‍यो र?
मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी
जहाँ काटनु परे पनि त्यो जेल हुन्छ।

जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैँ अवैध हुन्छ
जहाँ मुक्त आकाङ्क्षाहरू बन्देज हुन्छन्
जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ
बन्दुकको पहरा होस्
अथवा त्यो कानुनको घेरा होस्
के फरक पर्‍यो र?
मित्र, भयभीत परिवेशमा त्रसित जिन्दगी
जहाँ बाँच्नु परे पनि त्यो जेल हुन्छ।

जहाँ बेला–कुबेला रमन घुमिरहन्छ
जहाँ कारण–अकारण साइरन बजिरहन्छ
सडकमाथि बेलगाम घोडाको टापजस्तै
जहाँ चर्को आवाज गरी मार्च–पास चलिरहन्छ
अनि जहाँ मौसम बेमौसम बारुदहरू गर्जेर
सधैँ रगतको झरी परिरहन्छ
पर्खालभित्र होस्
अथवा त्यो पर्खालबाहिर होस्
के फरक पर्‍यो र?
मित्र, सधैँ छातीमा चाँदमारी थापेको जिन्दगी
जहाँ गुजार्नु परे पनि त्यो जेल हुन्छ।

उही दिन सधैँ, उही रात सधैँ
उही बिहान र साँझ साथ छ
उही स्वप्नभङ्ग विवश जिन्दगी
उही गतिहीन समय साल छ
निकासबिनाको बन्द तालजस्तै
जहाँ गन्दा समाजसाथ अँधेरो बास छ
कुनै अनाम देश होस्
अथवा त्यो प्रिय स्वदेश होस्
के फरक पर्‍यो र?
मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी
जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ।

कृष्ण सेन ‘इच्छुक’ – बन्दी र चन्द्रागिरि

विजयको अन्तिम दिनसम्म
सबै रहौंला नरहांैला पछि हामी
र, सायद यो खुसीको हर्षित क्षण
हाम्रो सुखद मिलनको अन्तिम क्षण पनि हुन सक्छ ।
र, म पनि रहिनँ भने
यस काव्यको अन्तिम अध्याय पनि
लेखिँदा लेखिँदै भोलि अपूर्ण रहनसक्छ ।
तर गेष्टापोको ग्याँस च्याम्बर जस्तो
यस सन्त्रासमय समयमा जस्ले
गद्दारी होइन मृत्यु रोजेका छन्
वास्तवमा यी सच्चा जीवन बाँचेका छन् ।
तिनको नश्वर शरीर कायम नरहे पनि
तिनका महान् आशा र अभिलाषाहरू
सधंै सधैं जीवित रहनेछन् ।
जीवनको अन्तिम दिनसम्म,
जो कञ्चन र इमान रहे
तिनका सहज स्मृतिहरू पनि
सधैं–सधैं जीवित रहनेछन्
किनकि ती जति बाँचे
र तिनका असल स्मृतिहरू पनि
सधैं–सधैं जीवित रहनेछन्
वास्तविक जीवनमा
को मर्नेछन् र को बाँचिरहने छन्
त्यसको अन्तिम फैसला समयले गर्नेछ,
र भन्नेछ–
जो देश र जनताको लागि बाँचे
ती मातृभूमिका सच्चा सपूत हुन्
र तिनका पवित्र स्मृतिहरू पनि
सधैं–सधैं जीवित रहनेछन् ।

मैले मेरो राष्ट्रलाई मुटुमा राखेर
मनखुसी जिन्दावाद ! भन्न किन नपाउनू ?
मैले मेरो राष्ट्रका कुलङ्गारहरूका विरुद्ध
मुठ्ठी उठाएर मूर्दावाद ! भन्न किन नपाउनू ?
लुकेर देशको छातीमा तीर चलाउने
ए मेरै देशका शिखण्डीहरू हो
तिम्रो पाखण्डीपनको विरुद्ध
मैले तिमीलाई घृणाले धिक्कार्न किन नपाउनू ?
डम्पिङ साइटका फोहोरजस्तै
राष्ट्रका घीनलाग्दा कसिङ्गरहरूलाई
बुल्डोजर लगाएर
देशले किन आज मनखुसी बढार्न नपाउनू ?

(स्रोत : बन्दी र चन्द्रागिरि, पेज ५३–५४)

कृष्ण सेन ‘इच्छुक’ – तिम्रो र हाम्रो संसार

बिल्कुल फरक छ
तिम्रो र हाम्रो संसार
जसरी बिहान र साँझमा फरक छ
जसरी दिन र रातमा फरक छ
जसरी उज्यालो र अँध्यारोमा फरक छ
सुखले भरिएको तिम्रो सम्रिद्धीको संसार
र दु:खले भरिएको हाम्रो गरीबीको संसार
धेरै-धेरै फरक छ
तिमी जन्मँदै
फूलको शैय्यामा जन्म्यौ
हामी काँडामा
तिम्रो भागमा जन्मँदै
मखमलको डसना पर्‍यो
हाम्रो भागमा फाटेको थाङ्ना
तिम्रो भागमा सुनको थाली पर्‍यो
हाम्रो भागमा रित्तो हात खाली
बिल्कुल फरक छ
तिम्रो वैभव र हाम्रो विपन्नताको संसार
धेरै-धेरै फरक छ
कुन त्यस्तो ठाउँ छ
कुन त्यस्तो गाउँ छ
कुन त्यस्तो देश
र, कुन त्यस्तो महादेश
जहाँ तिम्रो र हाम्रो संसार छुट्टीएको छैन
तिम्रो र हाम्रो बीचमा
जहाँ विभेद र विभाजनको रेखा कोरिएको छैन
तिम्रो र हाम्रो वर्ग छुट्टीएको छैन ?
व्यवहार छुट्टीएको छैन ?
जीवन/दर्शन र विचार छुट्टीएको छैन ?
बिल्कुल फरक छ
तिम्रो र हाम्रो वर्गिय संसारमा
धेरै-धेरै फरक छ
हाम्रै भागमा छ
भोक र अकालको प्रकोप
हाम्रै भागमा छ
शोक र अभावको प्रकोप
वर्षाबाढीरोग र महामारीको प्रकोप
हाम्रै भागमा छ
तिम्रो संसारमा बिहान सुरु हुँदा
हाम्रो संसारमा साँझ पर्छ
तिम्रो संसारमा दिन सुरु हुँदा
हाम्रो संसारमा रात पर्छ
तिम्रो संसार जति जति उज्यालो हुन्छ
हाम्रो संसारमा त्यती त्यती अँध्यारो बन्छ
तिमी पश्चिम हामी पूर्व
तिमी दक्षिण हामी उत्तर
ठीक विपरित छौं हामी
तिम्रो र हाम्रो संसार कसरी एकजुट हुन्छ ?
तिमी सुन / हामी फलाम
तिमी हिरा / हामी पत्थर
तिमी राजा / हामी रंक
तिमी सडक / हामी गल्ली
तिमी महल / हामी छाप्रो
तिम्रो भागमा लुटको स्वर्ग
हाम्रो भागमा श्रमको नर्क
बिल्कुल फरक छ
तिम्रो र हाम्रो संसार
र, हाम्रो विचार पनि धेरै धेरै फरक छ
हामी सबथोक फेर्न चाहन्छौ
हाम्रो दु:ख / हाम्रो दुर्भाग्य / हाम्रो दुर्दिन
तिमी सबथोक जोगाउन चाहन्छौ
तिम्रो सुख / तिम्रो सम्रिद्धी / हाम्रो दुर्दिन
र, त बिल्कुल फरक छ
तिम्रो र हाम्रो सोच
तिम्रो र हाम्रो स्वार्थ
तिम्रो र हाम्रो सिङगो संसारमा
धेरै-धेरै फरक छ
आकाश र पातालमा जस्तै
र, असम्भव छ हाम्रो मेल हुन
सिर्फ संघर्ष सिवाय
जो तिमीलाई जत्तिकै हामीलाई पनि सहज स्विकार्य छ
र, एक दिन अपरिहार्य पनि ।

जेष्ठ १३ गते सहिद कृष्ण सेन इच्छुक स्मृति दिवस मनाउँदै आएकोमा कोरोना संकट र लकडाउनका कारण यो वर्ष १८ औं स्मृति दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम गर्न असमर्थ भएको विभिन्न संघ, संस्थाले जारि गरेको संयुक्त विज्ञप्ति जानकारी दिईएको छ ।
“१८ औं इच्छुक स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक सम्मान र श्रद्धा व्यक्त गर्दछौं । पत्रकारिताको क्षेत्रमा उहाँले देखाएको बाटो कहिल्यै नबिर्सने र उहाँको योगदानलाई चिरस्थायी बनाउन अनवरत लागिरहने प्रतिवद्धता पनि व्यक्त गर्दछांै” जारि विज्ञप्तिमा भनिएको छ ।
पत्रकार कृष्ण सेन इच्छुकलाई २०५९ साल जेठ ६ गते गिरफतार गरी जेठ १३ गते महेन्द्र पुलिस क्लवमा क्रूरतापूर्वक यातना दिएर हत्या गरिएको थियो । हरेक वर्षको जेठ १३ गते इच्छुकको हत्या गरिएको दिनको सम्झना गर्दै नेपाल पत्रकार महासंघ दाङ, प्रेस संगठन नेपाल दाङ र जनसांस्कृतिक महासंघ दाङले संयुक्तरुपमा श्रदाञ्जली सभा तथा पुरस्कार बितरण समारोहको आयोजना गर्दै आएका थिए ।
कोरोना संकटको समाप्तिपछि एक औपचारिक कार्यक्रमको आयोजना गरी पुरस्कार बितरणको कार्यक्रम गरिने विज्ञप्ति मार्फत जानकारी गराईएको छ । सेन लगायत पत्रकार, कलाकारसहित सम्पूर्ण सहिदहरुले गरेको बलिदानका कारण आज हामी गणतान्त्रिक युगमा प्रवेश गरेका छौं । गणतन्त्र स्थापना भएपनि जनताको घरदैलोमा अझै सबै अधिकार नपुगेको बताईको छ ।
सेनस्मृति दिवसको क्षणमा हामी पत्रकारिता र साहित्य सिर्जनामार्फत् निरन्तर जन अधिकारको पक्षमा आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छौं, विज्ञप्तिमा उल्लेख छ । आज कोरोना संकटबिरुद्ध विश्व मानव समुदाय नै लडिरहेको अवस्थामा सञ्चारकर्मीहरु पनि जोखिमका साथ अग्रपङ्तिमा काम गरिरहेको अवस्था छ । यो संकटको बेलामा जतिसक्दो आफू सुरक्षित हुँदै आफ्नो कर्ममा लाग्न आग्रह गरिएको छ ।

Facebook Comments