ढोरपाटन दैनिक सगै बागलुङबाट प्रकाशित अन्य पत्रपत्रिकाको नियमित प्रकाशन शुरु


बागलुङ बैशाख २९ रासस
बन्दाबन्दी खुकुलो पारिएपछि प्रकाशकले पत्रपत्रिकाको प्रकाशन र वितरण शुरु गरेका छन् । कोरोनाको जोखिमले अपर्झट बन्दाबन्दी भएपछि पत्रपत्रिका छापिन सकेका थिएनन् । यस बीचमा प्रकाशकले पत्रिकाको ‘पिडिएफ’ लाई अनलाइन र सामाजिक सञ्जालमार्फत पाठकलाई उपलब्ध गराएका थिए । पत्रिकाको डिजिटल संस्करण पनि प्रभावकारी बनेको थियो ।बागलुङ र पोखराबाट एकसाथ प्रकाशित हुने ‘ढोरपाटन राष्ट्रिय दैनिक’ आइतबारदेखि पोखरामा पूर्ववतरूपमा वितरण हुन थालेको छ । ढोरपाटन सञ्चार प्रालिद्वारा प्रकाशित उक्त पत्रिका आजदेखि बागलुङ, पर्वत र म्याग्दीमासमेत वितरण हुनेछ ।

“आवश्यक सुरक्षा सावधानी अपनाएर वितरण शुरु गरेका छौँ”, पत्रिकाका सम्पादक हरिनारायण गौतमले भन्नुभयो । बागलुङबाट प्रकाशित ‘धौलागिरि जागरण दैनिक’ को वितरण पनि आइतबारदेखि शुरु भएको छ । प्रकाशक आदर्श सञ्चार सहकारी संस्थाले वितरकलाई अनिवार्य मास्क, सेनिटाइजर र पञ्जा प्रयोग गर्न भनेको छ ।घर, पसल, वित्तीय संस्था र कार्यालयमा भौतिक दूरी कायम गरी वितरणको व्यवस्था मिलाइएको प्रकाशकले जनाएका छन् । वितरकलाई सकभर बाहिरैबाट पत्रिका दिन लगाइएको छ । साप्ताहिक पत्रिकाले पनि अर्को साताबाट वितरणलाई निरन्तरता दिने भएका छन् । गुहेली सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित ‘जननिगरानी साप्ताहिक’ को प्रकाशन आइतबारदेखि शुरु भए पनि वितरण भने आउँदो सातादेखि गरिने जनाएको छ ।

पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले पत्रपत्रिकाको प्रकाशन र वितरण नियमित हुनुलाई सुखद मान्नुपर्ने बताउनुभयो । उहाँले सुरक्षा उपाय अपनाएर विस्तारै सबै काममा फर्कनुपर्ने धारणा राख्नुभयो । “कोरोनाको जोखिम अझै लम्बिन सक्छ, के सधँै बन्दाबन्दी गरेर बस्ने रु अब विकल्पमा जानुपर्छ, उच्च सावधानी अपनाऔँ, भौतिक दूरी कायम गरौँ”, उहाँले भन्नुभयो ।सरकारले शुक्रबारदेखि बैंक, वित्तीय संस्था, उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा लचकता अपनाएपछि पत्रपत्रिका वितरणमा पनि सहजता थपिएको हो । कोरोनाका कारण सिर्जित लामो अवरोधपछि हकर अखबार बोकेर ग्राहक÷पाठककहाँ पुगेका छन् ।

Facebook Comments