डोजरले हुत्याउने चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा

बैतडी । डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।बैतडीको दशरथचन्द नगरपालिका–९ मा स्थानीय वासिन्दा गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो। महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक किसन चन्दले बताए। ‘मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेका छौँ,’ ईन्स्पेक्टर चन्दले भने, ‘जिल्ला अदालतबाट १० दिनको म्याद थपेर चालकमाथि अनुसन्धान भइरहेको छ।’

दशरथचन्द–९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो। झडपका वेला सडक रोक्ने पक्षकी गौरीलाई डोजरले हुत्याएको थियो। डोजरले हुत्याउँदा गौरी गम्भीर घाइते भएकी छन्। उनको कोहलपुरमा उपचार भइरहेको छ।

यस्तै झडपमा ढुङ्गा हानाहान पनि भएको थियो। ढुङ्गा हानाहान हुँदा दुवै पक्षका अरु सात जना समान्य घाइते भएका थिए। स्थान गुठीको जमिन रहेको भन्दै यसअघि पनि विवाद आएको थियो। तिहारपछि विवाद समाधान गरी सडक खन्ने सहमति भए पनि एक्कासी सडक निर्माण गर्न खोज्दा घटना भएको हो।सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

Facebook Comments