चुनावको बेला फिर्केखोला मापदण्ड: १० बाट १ मिटर कायम ? गोप्य सहमति पत्र फेला पर्यो

साँझ सही गरियो, गलत भयो :शर्माको माफी

पोखरा, ६ मंसिर-मंसिर १४ गते हुने उपनिर्वाचनको लागि दलहरु चुनावि प्रचार अभियानमा व्यस्त भईरहेको समयमा पोखरामा फिर्के खोलाको साविक मापदण्ड फरएिको रहस्य खुलेको छ । पोखरा महानगरपालिका कार्यालयले फिर्के खोलाको मापदण्डलाई घटाएर स्थानीय फिर्के प्रभावित नागरिकहरूसँग गोप्य सहमति गरेको पत्र फेला परेको छ ।

credit:kamal poudel athak

यसअघि १० मिटर कायम गरिएको फिर्के खोलाको मापदण्ड अहिले उपनिर्वाचनको वेला महानगरले घटाएर एक मिटरमा झारेको सहमति पत्र फेला परेको हो । सहमति पत्रमा महानगरका मेयर मानवहादुर जिसीको प्रतिनिधिको रुपमा बरिष्ट कानुन अधिकृत नारायणप्रसाद शर्माले हस्ताक्षर गरेका छन् । त्यसैगरी मध्यस्थकर्ताको रुपमा अधिवक्ता हीमलाल पराजुली, स्थानीय दाजुभाईद्धय कृष्ण पराजुली (ढाकामोहन), राजेश पराजुली र शंकरनाथ कोईरालाले मध्यस्थकर्ताको रुपमा हस्ताक्षर गरेका छन् ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रतिनिधि दामोदर बैरागी, फिर्के संरक्षण तथा मापदण्ड सरोकार तदर्थ समितिका अध्यक्ष नारायण विक्रम शाही, सचिव कृष्णप्रसाद जैसी, कास्की क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार सुनीलबहादुर कोइरालाले हस्ताक्षर गरेका छन् ।

देशमा निर्वाचन आचार संहिता लागू भएको अवस्थामा महानगरपालिकाले नेकपालाई निर्वाचनमा सघाउने आश्वासन बाँड्दै फिर्के खोलाको मापदण्ड घटाएको महानगर स्रोतले बताएको छ । यो निर्वाचनमा मापदण्ड घटाएको भनेर फिर्के वासिन्दासँग पैसा समेत असुल गरेको स्रोतको दावी छ ।
यसका बारेमा जानकारी लिन खोज्दा महानगरका मेयर मानबहादुर जिसीले फोन उठाएनन् । मेयर जिसीको प्रतिनिधिको रुपमा हस्ताक्षर गरेका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले “साँझको बेला सही गरियो, गलत भयो भन्दै माफी मागे ।” पत्रकार मल पौडेल अथकले लेखेका छन् ।

स्वयं कानुनको पाठ सिकाउनेले नै गरेको यो हर्कतले अहिले पोखरेली नागरिकलाई झसंग बनाएको छ । महानगरको वरिष्ठ कानुन अधिकृत जस्तो व्यक्तिले यसरी जथाभावि हस्ताक्षर गरेर जनतालाई झूठो आश्वासन बाँड्न मतियार बनेको भन्दै महानगरका कर्मचारी र सामाजिक संञ्जालमा समेत चर्को विरोध भएको छ ।

निर्वाचनमा सघाउनको लागि भन्दै स्थानीय नागरिकमा झूठो आश्वासन बाँड्दै जथाभावी सम्झौता गरेको प्रभावित वासिन्दाहरुले बताएका छन् । ‘चुनावको मुखमा जस्तो पनि सम्भौता गर्छन्, चुनाव सकिएपछि फेरि सबै कुरा हराउँछन्’, उनीहरूले भने । सो सहमति नेकपालाई भोट दिने शर्तमा गराइएको झूटो आश्वासनको पुलिन्दा भएको फिर्के प्रभावित नागरिकको गुनासो छ ।

Facebook Comments