चीनले बनाइदियो लमजुङमा विद्यालय

२७ असोज। लमजुङको राइनास नगरपालिका-९ मोहोरीयाकोटमा चीन सरकारको ८३ करोड सहयोगमा अत्याधुनिक विद्यालय भवन निर्माण भएको छ । स्थानीय भैरव माध्यमिक विद्यालयको भवन चीन सरकारले निर्माण गरिदिएको हो । चिनिया प्रविधि प्रयोग गरेर सुविधा सम्पन्न भवन निर्माण गरिएको विद्यालयले जनाएको छ ।

अण्डरग्राउण्डमा १ तला र ग्राउण्ड माथि ३ तलाको भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक राजेश्वर ढकालले बताए । उनका अनुसार विद्यालय ६८ कोठाको छ । उक्त भवन विद्यालयको ८ रोपनी जग्गामा निर्माण गरिएको हो ।

चीनको तिब्बतीयन निर्माण कम्पनीले भवन निर्माण गरेको र कामदारदेखि सबै सामाग्री चीनबाट ल्याएको उनले बताए । भवनको अनुगमन समेत चीनबाटै हुँदै आएको उनले बताए । विद्यालय भवन निर्माण सकिएपछि नयाँ भवनमै पठनपाठन हुन थालेको छ ।

विद्यालयका शिक्षक रामप्रसाद गुरुङका अनुसार सुविधासम्पन्न भवनमा पढ्न पाएपछि विद्यार्थी खुसी भएका छन् । ६८ कोठामध्ये २६ वटा कोठा प्रयोगमा आएको छ । उक्त कोठामा बाल विकास कक्ष, कक्षा १ देखि १० का कक्षा, अप्सनल कक्ष, पुस्तकालय, गोष्ठी हल, कम्प्युटर कक्ष, सूचना केन्द्र कक्ष, व्यवस्थापन समितिको कक्षलगायत छन् । अन्य कोठा विस्तारै प्रयोग गर्दै लैजाने विद्यालयले जनाएको छ । १७ कोठामा विद्यार्थीका लागि होस्टेल सञ्चालन गरिनेछ ।

चीन सरकारको लगानीमा निर्माण भएको भैरव मावि । तस्बिर : नवीनराज कुइँकेल

राइनास नगरपालिकाका प्रमुख समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर थापाका अनुसार प्रयोगमा नआएका कोठामा पुस्तकालय, साइन्स ल्याब, बैठक हल, कार्यालय, सेमिनार हल, प्रशासन, शिक्षा कक्षा हुनेछ । विद्यालय परिसरमा बास्केटबल खेलमैदान, सवारी साधन पार्किङ स्थल विद्यालयमा निर्माण गरिएको छ । १० वटा सोलार बत्ती जडान गरिएको छ ।

चीन सरकारले भवनसँगै ४० वटा कम्प्युटर सहयोग गरेको र सिंगल बेन्च र कुर्सीसमेत सहयोग गरेको छ । भूकम्पपछि खुला आकाशमुनी अध्ययन गर्न बाध्य भएका विद्यार्थीको सहज पठनपाठनका लागि सहयोग खोजिएको मेयर थापाले बताए ।

वडा नम्बर ९ का अध्यक्ष देवबहादुर थापाले गाउँमै उत्कृष्ट प्रविधि र सुविधासम्पन्न भवन बनेपछि विद्यार्थी, शिक्षकलाई सहज भएको बताए । उक्त विद्यालय जिल्लामै नमुना विद्यालयको रुपमा रहने र शैक्षिण गुणस्तर पनि वृद्धि गर्दै लाने योजना रहेको उनले बताए ।

२०१४ सालमा स्थापना भएको सो विद्यालय २०३३ मा निम्न माध्यमिक विद्यालय र २०५३ सालदेखि माविमा स्तरोन्नति भएको थियो । कक्षा १० सम्म अध्ययन हुँदै आएको उक्त विद्यालमा २५५ विद्यार्थी छन् ।

चीनले नेपालमा १० उत्कृष्ट नमुना विद्यालय बनाउने घोषणा गरेसँगै हिमाली भेगमा दुईवटा विद्यालय निर्माण गरेको हो । यसअन्तर्गत लमजुङमा भैरव मावि र सिन्धुपालचोकको ब्रम्हाची गाविस-९ स्थित रत्नराज्य माविको भवन रहेको छ ।

Facebook Comments