कोरोनाभाइरस-चीनबिरुद्ध पश्चिमा देशहरुले वातावरण दुसित बनाउने काम गरेको आशंका :प्रचण्ड

सन्देश श्रेष्ठ/पोखरा, माघ २२

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चीनलाई नरुचाउने र मन नपराउनेहरुले राजनीति गरेर वातावरणलाई त्रसित बनाउने काम गरेको हो कि भन्ने आशंका पैदा गरेको बताएका छन् ।

प्रेस संगठन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले चीन सरकारले जारी गरेको पछिल्लो वक्तव्यले कोरोना भाइरसलाई देखाएर चीनबिरुद्ध केहि पश्चिमा देशहरुले वातावरण दुसित बनाउने काम गरेको हो कि भन्ने आशंका पैदा गरेको बताएका हुन् । मैले हिजोमात्र नेता कमरेड साथीहरुसँग कोरोना भाइरसमा राजनीति त भइराख्या छैन भनेर चासो राखेको थिएँ,‘उनले भने,‘नभन्दै चीन सरकारको विदेश मन्त्रालयले वक्तव्य नै निकालेको रहेछ, कोरोना भाइरसको सन्दर्भमा पश्चिमा शक्तिहरुले अनावश्यक प्रचार गरेर वातावरण दुसित बनाउने काम गरे भनेर ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपका अध्यक्ष प्रचण्डले २००८ मा अमेरिकी एक सहरमा देखा परेको एउटा रोगले २ लाख ५० हजार मान्छेको ज्यान जाँदापनि चीनले गलत प्रचार नगरेको भनेर वक्तव्यमा उल्लेख गरेको भन्दै थपे,‘एउटै रोगले साढे २ लाख मान्छेको ज्यान लिँदा विश्वभरी नै चिन्ता जाहेर भयो । त्यतिबेला हामीले अमेरिकालाई सहयोग ग¥यौं । तर वातावरण बिगार्ने गरेर प्रचार गरेनौं भनेको छ, अहिले हाम्रोमा ४ सयको हाराहारीमा मान्छेको ज्यान गएको छ । कहाँको साढे २ लाख, कहाँको ४ सय जना, तर हाम्रो बारेमा गलत ढंगले प्रचार भयो भनेको छ चीनले । यसले रोगमापनि शक्ति राष्ट्रहरुले एक अर्काबिरुद्ध राजनीति गर्छन् कि भन्ने आशंका पैदा गरेको छ ।’

अध्यक्ष प्रचण्डले चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । कोरोना भाइरसबिरुद्ध भ्याक्सिन पत्ता लगाउने तथा चामत्कारिक रुपमा रातारात अस्पताल निर्माण गरेर संसारलाई अचम्मित पारेको भन्दै उनले चीनको प्रशंसा गरे । चीनले चीनिया नागरिकदेखि विदेशी नागरिकसम्मको सुरक्षा, उद्धार र उपचारमा उल्लेख्य प्रयास गरिरहेकोसमेत बताए । उनले भने,‘चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण अब छिट्टै नियन्त्रण हुन्छ भन्ने विश्वास पैदा गरेको छ ।’ उनले नेपालमा कोरोना भाइरसका कारण त्रसित हुनुपर्ने अवस्था नरहेको बताए । एकजनामा कोरोना भाइरसको संक्रमण हो कि भनेर निगरानीमा राखेपनि त्यो कोरोना भाइरसका कारण नभएको पुष्टी भएको भन्दै उनले थपे,‘नेपालमा कोरोना भाइरसका कारण त्रसित हुनुपर्ने स्थिति छैन, तर सचेत भने हुनुपर्छ ।’ उनले चीनमा भएका नेपालीहरुलाई नेपाल सरकारले ल्याउने, उनीहरुलाई सुरक्षित रुपले राख्नुपर्ने काम गरिरहेको भन्दै त्यसमापनि चिन्ता लिइरहनुपर्ने स्थिति नरहेको स्पष्ट पारे ।’

प्रचण्डले कोरोना भाइरसका कारण भिजिट नेपाल २०२० को मुखैमा ठेस लागेको बताए । भिजिट नेपाल २०२० को शुभारम्भमै कोरोना भाइरसको संक्रमण देखा प¥यो,‘उनले भने,‘यसले पहिलो गाँसमा दाँतमा ढुंगा लागेजस्तो भएको छ ।’ उनले सबै मिलेर भिजिट नेपाल २०२० लाई सफल बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले सरकार अब पार्टीको नेतृत्व र निर्देशनमा चल्ने बताए । सरकार पार्टीको निर्देशन र नेतृत्वमा चल्नुपर्छ भन्नेमा म र अर्का अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री दुबै सहमत छौं,‘उनले भने,‘हिजो पार्टी एकतामा ढिलाई हुँदा सरकार सञ्चालनमा पार्टीले नेतृत्व लिने, पार्टीको योजना अनुसार सरकार चलाउने र सरकारले गरेका राम्रा कामको प्रचार गर्ने काम प्रभावकारी रुपमा हुन सकेन, तर केन्द्रीय कमिटी बैठकले सरकार र पार्टी बिचको असमझदारीको अन्त्य गरेको छ, पार्टीको नेतृत्वमा सरकार सञ्चालन गर्ने, सरकारले गरेका राम्रा कामको प्रचार गर्ने लगायतका काममा पहलकदमी लिनेछ ।’

अध्यक्ष प्रचण्डले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को बारेमा बनेको अध्ययन कार्यदलले जे सुझाव दियो त्यो शतप्रतिशत कार्यान्वयन नहुने बताए । एमसीसी के हो ? भन्नेबारेमा अध्ययन गर्न र जनतालाई बुझाउन कार्यदल बनाइएको हो,‘उनले भने,‘ठाडै रिजेक्ट वा सिधै पारित गर्नुभन्दा एमसीसीको अन्र्तवस्तु अध्ययन गरेर त्यसलाई सकारात्मक तरिकाले बुझाउन र प्रतिवेदन तयार गर्ने जिम्मा साथीहरुलाई दिइएको हो, त्यो समितिले १० दिनभित्रमा प्रतिवेदन बुझाउँछ, तर कार्यदलले जे ल्यायो त्यो शतप्रतिशत कार्यान्वयन हुन्छ भन्ने छैन, आएको प्रतिवेदनमाथि पार्टीमा छलफल हुन्छ र पारित गरेपछि मात्रै कार्यान्वयनमा जान्छ ।’

अध्यक्ष प्रचण्डले सभामुखको पदसँग एमसीसी साट्यो भन्ने कुरा बिलकुल गलत कुरा भएको बताए । सभामुख पदसँग साट्यो भन्नेकुरा कहिंकतै छैन,‘उनले भने,‘यो बिलकुल गलत कुरा हो, त्यस्तो भ्रम नपाल्नुहोला ।’ नेपालको हित बिपरित एमसीसीका बुँदाहरु स्वीकार्न सकिदैन भन्ने स्पष्ट भनिसकेका छौं,‘उनले भने,‘हामी राष्ट्रिय हित अनुकुल, सबै कुरा बुझेर, सत्यतथ्यको गहिरो अध्ययन र अनुसन्धान गरेर मात्रै एमसीसीबारे निर्णय लिन चाहन्छौं ।’

अध्यक्ष प्रचण्डले सीमा सम्बन्धी विवाद नरहेको दाबी गरे । नेपालको इतिहासमा पहिलोपटक ओली सरकारले सीमा विवाद समाधानका लागि पहल गर्न डिप्लोमेटिक नोट पठाएको र त्यसलाई भारतले हामी वार्ताका लागि तयार रहेको र विवाद समाधान गर्नपनि तयार रहेको भनिसकेकाले चाँडै वार्तामार्फत समस्या समाधान हुने उनको भनाई थियो ।

बासुरी र सारंगीको धुन बज्दा आफू नहुनु संयोगमात्र भएको प्रचण्डले स्पष्टीकरण दिए । आफूलाईपनि प्रधानमन्त्रीले निम्तो दिएको तर पोखरा आउनुपर्ने भएकाले छुटेको भन्दै त्यसबाहेक अन्य कारण नभएकाले त्यसको अर्थ र कारण नखोज्न पत्रकारलाई आग्रह गरे ।

अध्यक्ष प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठक जनवादी वातावरणमा जीवन्त ढंगले छलफल गरेर पार्टी एकतामा गुणात्मक फड्को मार्न सफल भएको बताए । हाम्रोमा अन्र्तघुलनको समस्या थियो,‘४ सय जनाको कमिटीमा एकले अर्कोलाई चिन्नपनि गाह्रो हुने स्थिति थियो, तर यो बैठकले पार्टीलाई अन्र्तघुलन गर्दै एकताबद्ध बनाउने ऐतिहासिक र अभूतपूर्व एकताको सन्देश दिन सफल भयो ।’ उनले पार्टी अब विकास र समृद्धीमा केन्द्रीत हुनेपनि बताए । केन्द्रीय समिति बैठकले ३ महिने अभियान पारित गरेको भन्दै अब पार्टी उक्त अभियान लिएर जनतामाझ जाने बताए ।

अध्यक्ष प्रचण्डले राष्ट्रिय सभाको चुनावपछि नेकपा नेतृत्वको सरकार दुई तिहाई नजिक पुगेको बताए । सफत त खाइसक्नु भएको छैन निर्वाचित साथीहरुले,‘उनले भने,‘तर राष्ट्रिय सभाको चुनावपछि नेकपा सरकारको एक्लैपनि दुई तिहाई पुग्ने स्थिति बनेको छ ।’ उनले सरकार दुई तिहाई नजिक पुग्नु स्थायीत्व चाहने, विकास र समृद्धी होस् भन्नेहरुका लागि प्रतिपक्षसहित जोकोहिलाईपनि खुशी बनाएको बताए ।

प्रेस संगठन कास्कीका संयोजक माधव बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–संयोजक सन्देश श्रेष्ठले गरेका थिए ।

Facebook Comments