चिनियाँ लगानीको आकर्षण, नेपालमा होटल तथा रेष्टुराँ

काठमाडौँ, २२ कात्तिक-उद्योग विभागको आँकडाअनुसार नेपालमा होटल तथा रेष्टुराँ क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । चालू आवको पहिलो तीन महिना विभागमा दर्ता भएका ३९ वटा होटल तथा रेष्टुराँमध्ये ३६ वटा होटल तथा रेष्टुराँमा चिनियाँ लगानी प्रतिबद्धता आएको छ । आर्थिक रुपमा करीब रु सात अर्ब चिनियाँ व्यवसायीले लगानी गर्नेछन् । यस्तै भारतका दुई र एक जापानिज लगानीकर्ताले होटल तथा रेष्टुरेन्टमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

विभागको विवरणमा चिनियाँ लगानीका दुई तारे होटल तथा रेष्टुराँ काठमाडौँ र पोखरामा सञ्चालन गर्ने इच्छा जनाएका छन् । भ्रमण वर्षलाई सार्थक तुल्याउन महत्वपूर्ण पर्यटकीय पूर्वाधारको रुपमा रहेको होटल क्षेत्रको विशेष योगदान रहन्छ । समग्रतामा नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिएको विभागका निर्देशक खड्काले बताउनुभयो । उहाँले मुलुकमा लगानीको वातावरण सिर्जना भएको र नीतिगत सुधारका कारण पनि लगानी बढेको उल्लेख गर्नुभयो ।

होटल एसोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले नेपाललाई पर्यटकीय गन्तव्यका रुपमा लिएर विदेशी लगानीकर्ता आकर्षण भएको र यसले देशको अर्थतन्त्रलाई गतिशील बनाउने विश्वास व्यक्त गर्नुभयो । पर्यटन क्षेत्रमा आएको लगानी उत्साहवद्र्धक रहे पनि लगानीको प्रतिफलको सुनिश्चितताका लागि सरकारले आधारभूत पूर्वाधार विकासमा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

हानसँग आबद्ध पर्यटकस्तरदेखि पाँचतारे होटलसम्म गरी दुई हजार हाराहारी होटल छन् । हानका १५ क्षेत्रीय च्याप्टर छन् । ती होटलमा झण्डै ४८ हजार श्यया रहेको व्यवसायीको दाबी छ । अहिलेकै अवस्थामा २० लाख पर्यटकलाई व्यवस्थापन गर्न सकिने व्यवसायीले जनाएका छन् । सरकारले भ्रमण वर्ष मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । होटलपछि हवाई यातायात र सडक यातायात पनि महत्वपूर्ण हुन् ।रासस

Facebook Comments