चितवनमा कांग्रेसको शानदार बाजी, नेकपा अध्यक्ष दाहाललाई आफ्नै क्षेत्रमा धक्का

news
credit:ईमेजखबर

काठमाडौं, मंसिर १५-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्लामा चितवनमा गराइएको उपचुनावमा नेपाली कांग्रेसले शानदार परिणाम ल्याएको छ ।

जनताको मानसिकता तौलने निर्वाचनका रुपमा लिइएको उपचुनावको परिणामले नेकपाका ‘कार्यकारी’ अध्यक्ष पुष्पकमल दाहाल र पार्टीलाई धक्का लागेको छ । चितवन अर्का नेता एवं गृहमन्त्री रामबहादुर थापासमेतको जिल्ला हो ।

चितवनमा भएको उपचुनावको परिणाम नेपाली कांग्रेसको पोल्टामा गएकाले नेकपालाई धक्का लागेको हो । यसअघि तात्कालीन नेकपा एमाले एक्लैले जितेका स्थानमा समेत कांग्रेसले बाजी मारेको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४, वडा नः ५ र भरतपुर महानगरपालिका वडा नः १६ मा वडाध्यक्ष पदमा भएको निर्वाचनमा कांग्रेस उम्मेदवारहरु शानदार रुपमा विजयी भए ।

दाहालले सकेनन् आफ्नै निर्वाचन क्षेत्रको वडा जोगाउन

नेकपाका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र नं ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नः १६ मा कांग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भए । उनले नेकपाका उम्मेदवारलाई ३०८ मतको फराकिलो अन्तरले हराए ।

अमृतराजले ३१८३ मत प्राप्त गर्दा भक्तराजले जम्मा २८७५ मत पाए । यसअघि यो वडामा तत्कालीन नेकपा एमालेका उम्मेद्वार चतुरमान गुरुङ प्लानलसहित विजयी भएका थिए । गत असोजमा क्यान्सर रोगबाट उनको निधन भएपछि यहाँ फेरि चुनाव गराइएको हो ।

२०७४ मा भएको निर्वाचनमा अमृत हमाललाई गुरुङले ६४ मतले पराजित गरेका थिए भने, अरु सदस्यमा नेकपाका उम्मेदवारहरु विजयी भएका थिए ।

तत्कालीन एमालेले एक्लैले जितेको ठाँउमा माओवादी केन्द्र मिल्दासमेत पार्टी उम्मेदवार पराजय भएको हो ।

खैरहनीका दुबै वडा कांग्रेसको पोल्टामा

उता, पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४ र ५ मा पनि कांग्रेसका उम्मेदवारहरु विजयी भए । सवारी दुर्घटनामा कांग्रेसबाट निर्वाचित दुबैजना वडाध्यक्षको निधनपछि गराइएको उपनिर्वाचनमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका हुन् ।

credit:ईमेजखबर

खैरहनी–४ मा कांग्रेसका देवबहादुर बस्नेतसँग नेकपाका बेदबहादुर अधिकारी १५२ मतले पराजित भएका छन् । गत स्थानीय तहको निर्वाचनमा तत्कालीन एमाले उम्मेदवारले कांग्रेस उम्मेदवारबाट हार ब्यहोरेका थिए ।

credit:ईमेजखबर

खैरहनी–५ मा भने कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए ।

credit:ईमेजखबर

चितवन निर्वाचन क्षेत्र नः १ मा पर्ने खैरहनी नगरपालिका नेकपाकै अर्का नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा हो ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण, केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो सरकार रहँदा पनि चितवनमा भने मत परिणामले नेकपा कमजोर बनेको देखिएको छ ।ईमेजखबर

Facebook Comments