चितवनको तीनवटै वडामा कांग्रेस विजयी


चितवन मंसिर १५।चितवनको दुई स्थानीय तहका तीन वडामा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ। भरतपुर महानगरपालिका–१६, खैरहनी नगरपालिका–४ र ५ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन।

यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको भरतपुर–१६ मा कांग्रेसले नतिजा उल्टयाएको छ। राति साढे २ बजे सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार अमृत हमाल ३ हजार १८३ मत ल्याउँदै विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार भक्तराज हमाललाई ३०८ मतान्तरले पराजित गर्दै अमृत विजयी भएका हुन। भक्तराजले २ हजार ८७५ मत ल्याएका छन्। 

यसअघि तत्कालीन नेकपा एमालेका उमेदवार चतुरमान गुरुङ निर्वाचित भएका थिए। गुरुङको क्यान्सरबाट निधन भएपछि उपनिर्वाचन भएको हो। 

वडाध्यक्षका उम्मेदवार समाजवादी पार्टीका अम्बरबहादुर थापाले २५, राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले ३९ र राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठीले ६ मत पाएका छन्। १२१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

यस्तै, खैरहनी नगरपालिका–४ र ५ दुवै वडामा कांग्रेस विजयी भएको छ। वडा नम्बर ४ मा नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मतान्तरले पराजित गर्दै कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेत विजयी भएका छन्। यस्तै, वडा नम्बर ५ मा कांग्रेसका उम्मेदवार प्रतिमा कार्की विजयी भएकी छिन्। कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मतअन्तरले पराजित गरेकी हुन्। यी दुवै वडामा यसअघि कांग्रेले विजय भएको थियो। खैरहनी ४ र ५ का वडा अध्यक्षको सवारी दुर्घटना मृत्यु भएपछि उपनिर्वाचन भएको हो। थाहा।

Facebook Comments