चाइना एसियन एक्सपोमा पोखरेली सहभागिताको लागि चिनियाँ पक्षको अनुरोध

पोखरा, ४ मंसिर-पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले मित्रराष्ट्र चीनको नानिङ सहरमा अंग्रेजी वर्ष २०२० को सेप्टेम्बरमा आयोजना हुने ‘ १७ औँ चाइना एसियन एक्सपो’मा पोखरेली उद्योगी÷व्यवसायीहरुको सहभागिताको प्रतिवद्धता व्यक्त गरेका छन् ।
एक्सपोबारे जानकारी दिन आएको चिनिया प्रतिनिधिमण्डलसँग बुधबार भएको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले पोखरा उद्योग वाणिज्य संघले पुसको १८ देखि २८ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा चिनिया सहभागिताको लागि समेत अनुरोध गरे ।
कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले चीनमा आयोजना हुने एक्सपोमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारको लागि एउटा स्टल उपलब्ध गराउन चिनिया पक्षसँग अनुरोध गरे । उनले एक्सपोमा स्टल उपलब्ध भएमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकासँगको सहकार्यका त्यहाँ भ्रमण वर्षको प्रचारात्मक अभियान चलाउन पोखरा उद्योग वाणिज्य संघ तयार भएको बताए । छलफलमा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला,उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी,महासचिव अर्जुन पोखरेल, कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छे तथा कार्यकारी निर्देशक टोपबहादुर थापाले पनि आ–आफ्ना धारणा राखेका थिए ।
चीनको नानिङको प्रदर्शनी केन्द्रमा हुने एक्सपोमा एसिया तथा अन्य देशका विभिन्न उत्पादनहरुको विशाल प्रदर्शनी हुन्छ । मेसिनरी सामानदेखि कृषि उत्पादनसम्मको प्रदर्शन हुने सो एक्सपोमा ८ हजारभन्दा बढी व्यवसायीहरुले आफ्नो उत्पादन प्रदर्शनी गर्छन् भने २ सय ७४ भन्दा बढी छलफल कार्यक्रमको पनि आयोजना गरिन्छ । छलफल कार्यक्रममा बोल्दै एक्सपोका उप महानिर्देशक जेङ झोङले प्रदर्शनीमा सहभागि भई नेपाली उत्पादनहरुको बजारीकरण गर्न उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरे । उनले सो एक्सपोमा भाग लिन खोज्ने व्यवसायीहरुलाई सघाउन आफू तयार रहेको पनि बताए । छलफल कार्यक्रममा एक्सपोका डिभिजन निर्देशक हुवाङ जि र निर्देशक सिआवो सिआवोको पनि सहभागिता थियो ।

Facebook Comments