चप्पल लगाएर सवारी साधन चलाए १५ सय रुपैयाँ जरिवाना

काठमाडौं २० पुस । सार्वजनिक सवारी साधन चालकले अब सवारी चलाउँदा चप्पल लगाउन नपाउने भएका छन् ।सार्वजनिक सवारीसाधन दुर्घटनामा वृद्धि भएसँगै यातायात व्यवस्था विभागले चालकहरुलाई जुत्ता अनिवार्य गर्ने व्यवस्था ल्याएको हो ।
विभागका प्रवक्ता तिर्थराज खनाल यस्तो व्यवस्थाले दुर्घटना न्यूनीकरण हुने दाबी गर्छन् ।

चप्पल लगाएर सवारीसाधन चलाउँदा चप्पलको फित्ता अड्एिर दुर्घटना बढेको पाइएको र सबै प्रकारका सवारी गाडी चलाउँदा जुत्ता लगाउन अनिवार्य गरिएको विभागका प्रवक्ता तिर्थराज खनालले खबरहबलाई जानकारी दिए ।विभागले यसका लागि यातायात व्यवसायीसँग छलफल गरेर सम्बन्धित कार्यालयहरु र ट्राफिक प्रहरीलाई समेत चिट्ठी पठाएको थियो भने गत बुधवार सूचना प्रकशन गरेर नियम लागू भएको जानकारी दिएको थियो ।

गेयर, क्लज र ब्रेकमा खुट्टा सारिरहँदा चप्पलको फित्ता अड्किएर दुर्घटना भएको पाइएको बताउँदै खनालले भने, ‘यस्ता दुर्घटना कम गर्नका लागि यो नियम ल्याएका हौं ।’त्यस्तै दुर्घटना कम गर्नको लागि गाडीमा लेखिएका सबै किसिमका स्लोगन तथा कोटेसन मेट्न, सिसामा स्टिकर वा अरु कुनै चिज नटाँस्न र नझुण्डाउन र गाडीको क्याबिनमा सजावटका सामान वा म्युजिक सिस्टम राखेको भएमा त्यसलाई हटाउन समेत विभागले आग्रह गरेको छ ।

पछिल्ला समय सवारीसाधन दुर्घटना हुनुको कारणमध्ये सबैभन्दा बढी चालकका कारण हुने गरेको पाइएको भन्दै विभागले चालकको ध्यान अन्यत्र मोड्ने सामग्री गाडीबाट हटाउन सुझाव दिएको छ ।खनालका अनुसार बुधवारबाट लागू हुने गरि सूचना प्रकाशन भएको र यी सुझावहरु पालना नगरेको पाइएमा ट्राफिक प्रहरीले नियमअनुसार कारवाही गर्ने छ ।

१ हजार ५ सयसम्म जरिवाना

एक हप्तासम्म सम्पूर्ण चालकहरुलाई यसबारे चेतना दिइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।गत बुधवारबाटै अनिवार्य जुत्ता लगाउनुपर्ने व्यवस्थाबारे प्रचार गरिरहेको महाशााखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले जानकारी दिए ।‘बिहीवारबाटै हामीले चालकलाई सचेत गराउन यो व्यवस्थाबारे जानकारी गराइरहेका छौं’ ढकालले भने, ‘एक हप्तासम्म सचेत गराइन्छ ।’ यदी सुझाव नटेरेको खण्डमा ट्राफिक नियम मिचेको भनेर कारवाही प्रक्रिया अघि बढाउने बताउँदै ढकालले भने, ‘यसमा ५ सय देखि १५ सयसम्म जरिवाना लिन्छौं ।’

Facebook Comments