घरघरमा सिंहदरवार ? अपांगता भएका/सांगा सबैले बिपद व्यवस्थापन, न्यूनिकरण र पूर्वाभ्यासका बारे बुझ्न आवस्यक :सिग्देल(video)

विष्णु सिग्देल

अनलाईनअन्नपूर्ण/पोखरा, पुस १७

नेपाल रेडक्रस सोसाईटी कास्कीका च्याम्पियन विष्णु सिग्देलले अपांगता भएकाहरु र सांगा व्यक्तिहरुले बिपद व्यवस्थापन, न्यूनिकरण र पूर्वाभ्यासका काम बारेमा बुझ्न अति आवस्यक भएको बताउनु भएको छ । सिग्देलले अपांगताको क्षेत्रमा स्थानिय सरकारबाट हुने ढिलासुस्तिले सिंहदरवार घरघरमा पूर्ण रुपमा नाएको बताउनु भयो ।

हामी अपांगता भएका व्यक्तिहरु त बिपद व्यवस्थापनका लागि खटिएका छौं भने सपांगहरु किन सचेत नहुने ? सायद त्यो बेलामा बिपद व्यवस्थापनका बारेमा बुझेको र तालिम लिएको भए दूर्घटनाबाट बच्थें, बिहिवार “उत्थानशिल समुदाय निर्माणमा रेडक्रस” रेडियो कार्यक्रममा रेडियो अन्नपूर्णसंग कुराकानि गर्दै सिग्देलले भन्नुभयो ः“पूर्व तयारी महत्वपूर्ण कुरा रहेछ, म रेडक्रस कास्कीको स्योर कार्यक्रममा सरीक भएपछि पहिले आफु सुरक्षित हुनुपर्ने अनि अरुलाई सुरक्षा गर्ने कुराहरु सिकें र अहिले अरुलाई सिकाईरहेको छु ।”

कुनैपनि काम गर्न जाँदा सुरक्षाको व्यवस्था गरेर जानुपर्ने रहेछ, २०६२ सालमा छिमेकीको घरमा टेलीफोनको तार छुटेको छ कि भनेर तार हेर्न फलामे भर्याङबाट पोलमा चढेको थिएँ, तर मलाई करेन्ट लाग्यो र भुईंमा खसे, ढाड भाँचियो । पोलमा चढ्नका लागि होसियारी अपनाएको भए, हातमा रबरको पंजा, खुट्टामा प्लास्टिकको बुट लगाएर चढेको भए यस्तो त हुन्थेन नि ।” सिग्देलले अहिले कसैलाई कुनैपनि काम गर्न लागेको देखे, पहिले सुरक्षाको बन्दोबस्त गरेर काम गर्न सल्लाह दिने गरेको कुरा बताउनु हुन्छ ।

राष्ट्रिय अपांग महासंघ गण्डकीका सदस्य तथा सिर्जनशिल अपांग समाज कास्कीका अध्यक्ष समेत रहनु भएका सिग्देलले अपांगता भएकाहरुको लागि राज्यले विशेष व्यवस्थासहित हेर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो ः“हामी पनि यहि समाजका अंग हौं, अपांगता भएकाहरुको सम्पूर्ण विवरण चाहेका छौं, यो काम स्थानिय निकाय, हाम्रा जनप्रनिनिधहरुले गरिदिए राम्रो हुन्थ्यो । तर कुनै काम लिएर गयो भने भेट्नै गाह्रो हुने, कार्यालयमा पस्नै गाह्रो र समय नदिने जस्ता समस्या अझैं रहेकोले घरआँगनमा सिंहदरवार आएको अनुभूति अपूरो छ ।”

कतिपय अपांगता भएकाहरु आफैं अगाडी आउनु भएको छ । सपांगको पनि समाजलाई हेर्ने दृश्टिकोणमा परिवर्तन गर्न जरुरी छ । के गर्न सक्छन् र ? भन्ने सोंच कायम छ, सिग्देलले भन्नुभयो ः“कतिपय अपांगता भएकाहरुको कुरा घरबाटै बाहिर ल्याउन चाहनु हुन्न, जस्को पीडा अपांगता भएकाहरुले भोगिरहनु भएको छ, यसको कारण पनि सोचे अनुसारको काम हुन सकेको छैन । तर रेडक्रसको स्योर कार्यक्रम, प्राप्त तालिमहरुबाट बहस पैरवी गर्न सिकाएको छ, सिग्देलले भन्नुभयो ः“अब घर परिवार, अपांगता भएकाहरु, सपांग सबैले मिलेर क्षमता अनुसारको काम गर्नुपर्छ र दिनुपर्छ भन्ने मान्यताको विकास गर्न अनिवार्य छ ।”

हामीले सोच्ने भनेको सामाजिक संरचनामा अपांगता भएकाहरुको भूमिका खोज्ने र उनिहरुलाई अगाडी ल्याउनु पर्छ । सबै व्यक्तिहरुलाई पहुँच युक्तताको कुरा गरिरहेका छौं भने अपांगता भएकाहरु पनि छुट्नु हुँदैन । बाटो बन्दैछ भने त्यो बाटोमा वालवालिका, वृद्धवृद्धा, अपांगता भएकाहरु जो कसैले हिड्न र प्रयोग गर्न मिल्ने खालको बनाउनु पर्छ, यो कुरा स्थानिय सरकार, प्रदेश सरकारले बुझ्नु पर्छ ।

Facebook Comments