गण्डकी प्रदेश: ९ जिल्लामा RDT किट वितरण, पर्वत, लमजुङ र कास्कीका २८ नमूना परिक्षणका लागि पठाईयो

अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र २९

गण्डकी प्रदेशका बागलुङ, म्याग्दी, पर्वत तनहुँँ, स्याङजा, गोरखा, लमजुङ, नवलपुर र कास्कीमा कोभिड १९ परिक्षणको लागि RDT किट वितरण गरिएको छ ।

बागलुङ, म्याग्दी, गोरखा, पर्वत, कास्की लगायतका जिल्लामा किट मार्फत परिक्षण शुरु पनि भईसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।

बागलुङ को बागलुङ नगरपालिका, निसिखोला, बडीगाड, ढोरपाटन र तमनखोला, गोरखाको गोरखा नगरपालिका, कास्कीको रुपा गाउँपालिका र मादी, स्याङजाको भीरकोट, बिरुवा र अर्जुन चौपारी तथा म्याग्दीको बेनी नगरपालिकामा गरि ६४९ RDT परिक्षण गरिएको स्वास्थ्य निर्देशनालयले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्देशनालयका अनुसार आजसम्म हेलो डाक्टर १०९२ मा ५४७ जनाले फोन गरेर चिकित्सकिय परामर्श लिएका छन् ।

आज पर्वत, लमजुङ र कास्कीमा गरि २८ वटा नमूना संकलन भएको र परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा पठाईएको छ ।

कोरोनाभाइरस को नियन्त्रण र रोकथामका लागि गण्डकी प्रदेश सरकारले गरेका विभिन्न क्रियाकलाप हेर्नका लागि स्वास्थ्य निर्देशनालयको वेवसाईट http://hd.gandaki.gov.np मा गएर पनि हेर्न सकिन्छ ।

Facebook Comments