गण्डकी प्रदेशमा १ हजार ३३१ को नमूना संकलन, मुख्यमन्त्री गुरुङसहित १४६ जनाको स्वाब संकलन

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ६

गण्डकी प्रदेशमा १ हजार ३३१ जनाको नमूना संकलन गरिएको छ । ति मध्य १ हजार ८१ जनाको परिक्षण नतिजा नेगेटिभ रहेको छ भने २४७ जनाको परिक्षण नतिजा आउन बाँकि रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

आजसम्म गण्डकी प्रदेशमा ६ हजार ९९८ जनामा आरडीटी परिक्षण गरिएको उहाँले जानकारी दिनुभएको छ ।

आज पोखरामा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, प्रदेशका मन्त्रीहरु, मन्त्रालयका सचिव, कर्मचारीसहित पिएसओ, सुरक्षाकर्मि गरी १ सय ४६ जनाको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।

वुधवार प्रदेश सभाका सभामुख र अन्य सदस्यहरुको स्वाब संकलन गरिने कार्यक्रम तय गरिएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेश सरकारको प्रदेशका सबै जिल्लामा आईसियू स्थापना गर्ने निर्णयसंगै उक्त सेवा प्रभावकारी रुपमा संचालन गर्नको लागि अटिल अवस्थाका विरामीको हेरचाह गर्ने स्वास्थ्यकर्मिलाई प्रशिक्षण प्रदान गर्न मणिपाल शिक्षण अस्पताललाई अनुरोध गरिएको स्वास्थ्य निर्देशक डा. शर्माले बताउनु भएको छ ।

नेपाली सेनाले लमजुङमा सामुदायिक अस्पतालमा कोरोनाभाइरस संक्रमण वढेपछि गरिने विभिन्न क्रियाकलाप सम्वन्धि डेमो प्रदर्शन गरेको छ । उक्त प्रदर्शन उदीपुर श्रीजंग गणका सुरक्षाकर्मिले कोरोना संक्रमितको शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा गरेका थिए ।

यस्तै पीपीईको प्रयोगको तरिका, संक्रमितलाई अस्पताल लैजाने तरिका, संक्रमितको मृत्यु भएपछि अस्पतालबाट अन्तिम संस्कार स्थलसम्म लैजानका लागि अपनाउनु पर्ने विधि लगायतका बारेमा डेमो प्रदर्शन गरिएको थियो ।

आज सामाजिक विकास मन्त्री नरदेवी पुन, स्वास्थ्य निर्देशनालका निर्देशक डा.विनोद विन्दु शर्मा, महाशाखा प्रमुख लगायतका सरोकारवालाहरु सम्मिलित वैठकमा पीसीआर परिक्षण केस व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिनुभएको छ ।

Facebook Comments