गण्डकी:कोरोनाबाट संक्रमित हुनेको संख्या १६ पुग्यो

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १५

गण्डकी प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।

स्वास्थ्य निर्देशक, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले आज बिहान अध्यावधिक गरिएको विवरण अनुसार संक्रमितको संख्या १६ पुगेको जानकारी दिनुभएको हो ।

गण्डकी प्रदेशमा पछिल्लो नयाँ संक्रमितको संख्या ४ रहेको छ । डा. शर्माका अनुसार स्याङ्जा जिल्लाको वालिङ नगरपालिका निवासी वालिङस्थित क्वारेन्टाईमा रहेका ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । उनिहरुमा ३९ वर्षकि एक महिला तथा २६ र २२ वर्षका दुई पुरुष रहेका छन् । संक्रमित सबैलाई जिल्ला अस्पतालमा ल्याउने तयारी गरिएको छ ।

यस्तै गण्डकी प्रदेश, नवलपरासी बर्दघाट सुस्ता पूर्व देवचुली नगरपालिका निवासी, सोहि स्थानको क्वारेन्टाईनमा रहेका १९ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई चीतवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा लगिएको स्वास्थ्य निर्देशक तथा प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म ७ जहार ९५० को आरडीटी विधिबाट परिक्षण गरिएको छ । २ हजार ४४३ वटा नमूना संकलन गरिएकोमा २ हजार ३१८ वटाको नतिजा नेगेटिभ देखिएको छ भने १०९ जनाको नतिजा आउन बाँकि रहेको छ । दुई जना यसअघि नै निको भएर घर फर्किसकेका छन् ।

Facebook Comments