खाद्यान्न आपूर्तिलाई सहज बनाइने

पोखरा, १६ चैत

पोखरा महानगरपालिकाले गठन गरेको खाद्यान्न तथा स्थानीय व्यवस्थापन समितिका संयोजक लेखबहादुर तामाङ (दर्शन लामा) को अध्यक्षतमा बसेको बैठकले खाद्यान्न लगायत आवश्यक दैनिक उपभोग्य बस्तुलाई सहज बनाउने निर्णय गरेको छ । वडा नम्बर १० देखि १६ र २० नम्बर वडामा समन्वय गर्ने जिम्मेवारी पाएको उक्त समितिको बैठकले कोरोना भाइसर नियन्त्रण र रोकथामको लागि ती वडामा विदेशबाट आएकाहरुको विवरण संकलन गरी महानगरापालिकामा पठाउने निर्णय पनि गरेको संययोजक लामाले जानकारी दिए ।

उनका अनुसार विदेशबाट आएकाहरुको विवरण संकलन गर्न वडा कार्यालय, स्वास्थ्य संस्था, जनप्रतिनिधि, टोल विकास संस्थाको समन्वय र सहयोगमा संकलन गरिने लामाले बताए । लकडाउनको समयमा खाद्यान्न र अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थालाई सहज बनाउन सम्बन्धित वडाध्यक्षको नेतृत्वमा वडाका खाद्यान्न स्टोर्सहरु तथा आवश्यक सामग्रीको मौंजादको विवरण संकलन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

पशु, पक्षी पालक किसानलाई दानाको आपूर्ति लगायत समस्याको सूचीकरण गरी समाधान गर्न योजना बनाउने निर्णय भएको समितिका सदस्य स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले जानकारी दिए । लकडाउनको समयमा खाना पकाउने ग्यासको आपूर्तिलाई सहज बनाउन पोखरा उद्योग वाणिज्य संघ, प्रहरी कार्यालयका प्रतिनिधिको समन्वयमा सहज वितरणको व्यवस्था मिलाइने संयोजक लामाले बताए ।

विषयम परिस्थितिमा गरिब, विपन्न, सिमान्तकृत अशक्त, अपांगता भएका व्यक्तिलाई निशुल्क रुपमा खाद्यान्न उपलब्ध गराउन पनि अवस्था भएमा उनीहरुको यथार्थ विवरण संकलन गर्ने निर्णय भएको लामाले जानकारी दिए । वडा नम्बर १३ का अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)को संयोजकत्वमा गठित समितिको सदस्यमा वडा नम्बर १० देखि १६ र वडा नम्बर २० का वडा अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ प्रतिनिधि, वडा प्रहरी कार्यालय रामबजार प्रतिनिधि र स्वास्थ्य महाशाखाका हरिलाल आचार्य सदस्य छन् ।

Facebook Comments