कोरोना भाइरसका कारण पोखराको पर्यटन क्षेत्रमा प्रभाव पर्न थाल्यो

दीननाथ बराल पोखरा १२, फागुन

कोरोना भाइरसका कारण पोखराको पर्यटन क्षेत्रमा प्रभाव पर्न थालेको छ । पोखरामा पर्यटनको मध्य सिजनको रुपमा लिएको फेब्रुअरी महिनामा पर्यटक आगमनमा ह्वात्तै घटेसंगै पोखरा क्षेत्रको पर्यटन व्यवसायमा प्रभाव पर्न थालेको व्यवसायीहरुले गुनासो गर्न थालेका छन्।

अघिल्ला बर्षमा यस सिजनमा पोखरा क्षेत्रका होटल अकुपेन्सि करिब ४० देखि ५० प्रतिशतसम्म हुने भए पनि यस सिजनमा हाल करिब १५ प्रतिशतमा झरेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए । चाइनाबाट सुरु भएको कोरोना भाइरस कोरिया सहितका विश्वका केही देशमा यसको संक्रमण देखिएसंगै हिडडुल गर्न धेरै कम भएसंगै पोखरामा बिदेशी पर्यटक आगमनमा कमी आउदा पर्यटन क्षेत्रमा यसले प्रभावित बनाउदै गएको अध्यक्ष तुलाचनले जनाए ।

उनले भने “ कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा असर पारेसंगै यसबाट नेपालको अर्थतन्त्रलाई समेत प्रत्यक्ष असर पार्ने हुदा नेपालको पर्यटन प्रबद्र्धन गर्न भारत, बंगलादेश, श्रींलङका, म्यानमार सहितका एसियन देशहरुमा केन्द्रित हुनु पर्छ ।” एसियन देशसंग नेपालको धार्मिक तथा सांस्कृती केही पक्षहरु मिल्दोजुल्दो हुदा त्यस तर्फ निजी क्षेत्र र नेपाल सरकारको ध्यान जानुपर्ने उनको जोड थियो ।

चाइना, कोरिया, अमेरीका सहितका युरेपेली मुलुकका पर्यटक पोखरा आउने वातावरण सृजन गर्न करिब ६ महिना समय लाग्ने उनले पूर्व अनुमान समेत गरेकाछन्। चाइनाबाट निर्माण भएका तथा उत्पादन भएका धेरै बस्तु नेपाल सहितका विश्वका केही देशमा जाने गरेपनि हाल रोकिएकोले यसले केही बस्तु तथा सामानको मुल्यमा समेत प्रभाव पर्ने अध्यक्ष तुलाचनले दाबी गरे ।

रेवान पोखराका अध्यक्ष भिमशेन भुजेलले कोरोना भाइरसका कारण पोखरा क्षेत्रको रेष्टुरेण्ट व्यवसायीहरु समेत धरासाही अबस्थामा पुग्न लागेको बताए । उनले भने “ यति वेला पोखरामा पर्यटक न्यून सङख्यामा रहेकाछन्, चाइनामा कोरोना भाइरसको संक्रमणबाट मानिसहरु मर्न थालेको समाचार आएसंगै पोखरामा चाइनिज सहितका विदेशी पर्यटक आगमनमा ह्वात्तै कमी आएको छ । ” यही अबस्थामा केही महिना अघि बढेको खण्डमा केही पर्यटन व्यवसायीहरुले बैंकलाई व्याज समेत तिर्न नसक्ने अबस्थामा पुग्ने उनले जनाए ।

द्धोन्द्ध कालमा र भूकम्पको समयमा भन्दा पनि यति वेला कोरोना भाइरसका कारण पोखरा क्षेत्रको पर्यटन व्यवसायी धरासाही बन्दै गएको एक पर्यटन व्यवसायी श्याँम लामिछानेले बताए । नाइस नेपाल टुर्स एण्ड ट्राभल्स एवं होटल भर्जिन पोखराका संचालक समेत रहेका युवा उद्यमी लामिछानेले पर्यटक आगमनमा प्रायः ठप्पै जस्तै भएको हुदा आफुहरुलाई यसले धेरै असर पार्न थालेको गुनासो गरे । पोखराको एक मात्र पाँच तारे होटल ग्राण्ड पोखरामा पनि कोरोना भाइरसको प्रभाव परेको छ । अघिल्ला बर्षमा यस सिजनमा करिब ८० देखि ९० प्रतिशत होटल अकुपेन्सि हुने गरेकोमा यस सिजनमा मुस्किलले ४५ प्रतिशत पुग्ने होटल ग्राण्डकी फन्ट अपिस म्यानेजर सम्झाना गुरुङले बताइन्।

पोखरामा सडक मार्ग हुदै आउने विदेशी पर्यटकको सङख्यामा हाल करिब ८० प्रतिशत कमी आएको नाट्टा संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताए । पोखरा काठमाण्डौं, पोखरा चितवन र पोखरा लुम्बिनीमा दैनिक चल्ने पर्यटक गाडीमा हाल यात्रुको सङख्या घट्दा बैंक किस्ता तिर्नु भन्दा पनि कर्मचारी र तेल हाल्ने पैसा उठान समेत मुस्किल परेको अध्यक्ष सिग्देलले गुनासो गरे । केही कम्पनीहरु बिच समन्वय गरी चलेको खण्डमा केही सहज हुने अन्यथा हालको अबस्था निकै नाजुक भएको उनले बताए ।

उनले भने “२२ देखि ३५ सिटे पर्यटक स्तरिय बसमा हाल ४ जना सम्म यात्रु वोकेर हिड्नु परेको छ, यो अबस्थामा कसरी तेल र कर्मचारीको खर्च धान्ला त । ” हवाई उडानबाट पोखरा आउने विदेशी पर्यटकहरुलाई कोरोना भाइरस संक्रमण हुन सक्ने आशंकामा उनीहरुको पोखरा नागरिक उड्डयन कार्यालयमा स्वास्थ्यकर्मीको टोलीले सचेतना र शकांस्पद व्यक्ति भएमा निगरानि गर्न थालेकोे पोखरा नागरिक उड्डयन कार्यालयका प्रमुख भोला प्रसाद गुराँगाईले बताए ।

उनका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणका कुनै व्यक्तिको पोखरामा पहिचान भएको छैन्। स्वास्थ्य मन्त्रालयको एक टोलीले बिहान देखि बेलुकासम्म विभिन्न ठाउँबाट हवाई उडान हुदै पोखरा आउने पर्यटकलाई सचेतना गराउदै पम्प्लेट वितरण गर्दै टोलीले सामान्य स्वास्थ्य अबस्था बुझ्दै आएको प्रमुख गुराँगाइले बताए ।

कोरोना भाइरसका कारण विदेशी पर्यटक आगमनमा कमी भए पनि आन्तरिक पर्यटकले गर्दा हाल हवाई फ्लाइटमा खासै प्रभाव नपरेको उनले जनाए । पोखरामा हाल कोरोना भाइरसका कारण करिब २० प्रतिशत मात्र विदेशी पर्यटक आगमन भएको पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी भट्टराईले बताए । उनले भने “ विदेशीहरु स्वास्थ्यमा बढी सजग हुने हुदा कोरोना जस्तो प्राणघातक रोगको कारण घुमघाममा ननिस्केका कारण नेपाल सहित विश्वका धेरै मुलुकमा यसले प्रत्यक्ष असर पारेको छ भने हाम्रो नेपाल र पोखरा पनि यसबाट अछुतो रहेको छैन्। ”

कोरोना भाइरसका कारण विदेशी पर्यटक सहज ढंगबाट नेपाल आउने वातावरण भने सेप्टेम्बरसम्म लाग्न सक्ने उनले बताए । नेपालीहरु पछिल्लो समयमा घुमघाममा निस्कने प्रचलन बढेका कारण पोखराको हाल २० प्रतिशत पर्यटकमा जसमा १० प्रतिशत भन्दा बढी आन्तरिक पर्यटक भएको उपाध्यक्ष भट्टराईले जनाए । चाइनिज, कोरियन, अमेरीकन, युरोपियन सहितका पर्यटकहरु आगमनमा हाल ह्वात्तै कमी आउदा यसबाट समग्र पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर पर्न थालेको उनले बताए ।

Facebook Comments