कोरोनाबाट पाकिस्तानमा पहिलो मृत्यु, विश्‍वभर ७ हजार १ सयले गुमाए ज्यान पछिल्लो समय युरोप सबैभन्दा प्रभावित

एजेन्सी चैत ४
कोरोना भाइरसको प्रभाव दक्षिण एसियामा पनि बढ्दै गएको छ। भारतमा दुईजनाको ज्यान लिइसकेको कोरोना भाइरसबाट पाकिस्तानमा पनि पहिलो व्यक्तिको मृत्यु भएको छ।
मंगलबारसम्म विश्‍वभरमा कोरोना भाइरसबाट ७ हजार जनाको ज्यान गएको छ। विश्‍वका १६० देशका मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। विश्‍वमा जम्मा एक लाख ८२ हजार ५४७ जना संक्रमित भएका छन्। भारतमा कोरोनाबाट १२९ जना संक्रमित भएका छन्। उता इटालीमा एकै दिन ३४९ जनाको ज्यान गएको छ।

यता पाकिस्तानको लाहौरस्थित मायो अस्पतालमा भर्ना भएका इमरान नामका बिरामीको ज्यान गएको छ। उनी पाकिस्तानको हफिजाबादका बासिन्दा थिए। इमरान हालै इरानबाट फर्किएका थिए। पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या १८६ पुगेको छ।
इटालीमा सोमबार एक दिनमै ३४९ जनाले ज्यान गुमाएका छन्। कोरोनाको सबैभन्दा धेरै असर अब इटालीमा देखिएको छ। इटालीमा कोरोना भाइरसबाट मर्नेको संख्या २१५८ पुगेको छ।
यसका साथै ३ हजार २३३ जना नयाँ संक्रमित भेटिएको विवरण आएको छ। कोरोना भाइरसबाट इटालीमा हालसम्म २७ हजार ९८० जना संक्रमित भएका छन्। चीनबाहिर कोरोनाबाट ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै इटालीमै छ।

विश्‍वका १६२ देशमा कोरोनाबाट ७१६४ मानिसको मृत्यु भइसकेको छ। यस्तोमा चीनमा ३ हजार २२६ जना र चीनबाहिर ३ हजार ९३८ जनाको ज्यान गएको छ। समाचार अनुसार चीनमा ३ हजार २२६, इटालीमा २१५८, इरानमा ८५३, स्पेनमा ३४२, फ्रान्समा १४८, दक्षिण कोरियामा ८१, अमेरिकामा ८७, ब्रिटेनमा ५५, नेदरल्यान्डमा २४, जर्मनीमा १६, स्विट्जरल्यान्डमा १९ र जापानमा २४ जनाको मृत्यु भएको छ। दक्षिण एसियाली मुलुक भारतमा २ र पाकिस्तानमा एकजनाले ज्यान गुमाएका छन्। स्पेनमा २४ घण्टामा १००० नयाँ बिरामी भेटिएका छन्। इटालीपछि स्पेन सबैभन्दा प्रभावित युरोपेली देश भएको छ। स्पेनमा सोमवार कोरोना भाइरस संक्रमणका करिब एक हजार नयाँ मामिला सार्वजनि भएका छन्। बहराइनमा पनि कोरोनाबाट पहिलो व्यक्तिको ज्यान गएको छ।

इरानमा ८५३ जनाको ज्यान गएको छ। कोरोनाबाट युरोप पूरै ग्रस्त भएको छ। कयौँ सहर लक डाउन भएका छन्। पछिल्लो २४ घण्टामा युरोपका देशमा सबैभन्दा धेरै ज्यान गएको छ। इरानमा एकै दिनमा कोरोना भाइरस संक्रमित १२९ जनाको मृत्यु भएको छ। इरानमा संक्रमणका १४ हजार ९९१ मामिला सार्वजनिक भएका छन्। एजेन्सीको सहयोगमा

Facebook Comments