कोरोनाको सामना गर्न पर्वतका सबै पालिका एकजुट

पर्बत चैत्र १६ रासस

पर्वतका सातवटै स्थानीय तहले कोरोनाको सामना गर्न साझा रणनीति तयार गर्न सहमत भएका छन् भने सङ्क्रमणको आशङ्का गरिएका बिरामीको उपचारका लागि पर्वतको कुस्मामा सञ्चालनमा आएको कोरोना अस्पताललाई नै साझा आइसोलेसन बनाउने सहमतिसमेत गरेका छन् ।

पर्वतबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पदम गिरीको संयोजनमा शनिबार सम्पन्न बैठकले सबै पालिकाले एकीकृत सम्भावित जोखिमको सामना गर्ने निर्णय गरेका हुन् । बैठकमा सहभागीले जिल्लामा सबै ठाउँमा आइसोलेसन बनाउन सम्भव नभएका कारण पर्वत कोरोना अस्थायी अस्पताललाई नै प्रयोगमा ल्याउने र आवश्यक खर्चको व्यवस्थापन गर्ने सहमति गरेका छन् । “माहामारीलाई साझा हिसाबले सामना गर्न सबै पालिका एक ठाउँमा आउने काम भएको छ”, सांसद गिरीले भन्नुभयो, “पालिकाहरुले आन्तरिकरूपमा गर्ने तयारीलाई आफैँ गर्ने र जिल्लास्तरमा साझा रणनीति अपनाएर जाने सहमतिले सबै नागरिकलाई सुरक्षित गर्न महत्वपूर्ण कदम हुनेछ ।”

बैठकमा सांसद गिरीसहित जिल्ला समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेल, फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्मा, जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०, पैंयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, मोदी गाउँपालिका उपाध्यक्ष सेती महत, बिहादी गाउँपालिका उपाध्यक्ष डम्बरकुमारी गुरुङ, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनी तथा सामाजिक विकास समितिका संयोजक शिव पौडेल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालसहित सबै सुरक्षा निकायका प्रमुख सहभागी हुनुभएको थियो । बैठकमा महाशिला गाउँपालिकाको भने सहभागिता थिएन ।

गुप्तेश्वर क्याम्पसमा कुश्मामा तयार गरिएको अस्पताल बुधबारदेखि औपचारिकरूपमा सञ्चालनमा आइसकेको छ भने पर्वतको बिहादी र बागलुङका एकसहित दुई जनालाई आइसोलेसनमा राखेर परीक्षण गरिररहेको छ । उक्त अस्पताल तयार पार्दा र सञ्चालनमा लागेको खर्च सबै पालिकाले व्यहोर्ने निर्णय भएको छ । हरेक हप्ता खर्चको विवरण पर्वत अस्पतालले पेश गर्ने र सबै पालिकाहरुले उक्त खर्च संयुक्तरूपमा व्यर्होने निर्णय भएको छ ।

विदेशबाट फर्केका सबै क्वारेन्टाइनमा

उक्त बैठकले सबै पालिकामा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गर्दै चैत १ गतेपछि विदेशबाट घर फर्केका सबै नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा नै राख्ने निर्णय गरेको छ । अहिलेसम्म होम क्वारेन्टाइनमा राख्ने निर्णय भए पनि परिवारका सदस्यसमेत जोखिममा पर्ने र त्यसले सङ्क्रमण फैलन सक्ने भएकाले परिवारसँग समेत भौतिक सम्पर्कमा नराखी सिधैँ क्वारेन्टाइनमा जान अपिल गरेको हो । विदेशबाट फर्केका सबै व्यक्तिमा कोरोनाको सङ्क्रमण नभए पनि परीक्षण गर्नका लागि त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनसम्म पु¥याउन वडाध्यक्ष तथा सदस्य र टोल समितिलाई सक्रिय बनाउने सहमति पनि भएको छ ।

बैठकमा फलेबास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले विदेशबाट फर्केका व्यक्तिलाई परिवारको समेत सम्पर्कमा नराखी साविक गाविसका वडामा रहेका विद्यालयमा राख्ने व्यवस्था गर्दा क्वारेन्टाइन प्रभावकारी बन्ने प्रस्ताव गर्नुभएको थियो । विदेशबाट फर्केकाहरु क्वारेन्टाइनमा बस्न अनिच्छुक देखिएको र परिवारले समेत लुकाउने अवस्था आएका कारण पालिकाले नै बनाएको क्वारेन्टाइनमा राख्न आवश्यक भएको निष्कर्ष निस्केको थियो ।

Facebook Comments