केहि समय ग्रीन जोनमा फर्किएको गण्डकी प्रदेशमा पुनः एक जनामा कोरोनाभाइरसको संक्रमण देखियो

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ०१

बागलुङका दुई जना संक्रमितहरु निको भएर केहि समय ग्रीन जोनमा फर्किएको गण्डकी प्रदेशमा पुनः कोरोनाभाइरसको नयाँ संक्रमण भेटिएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या तीन पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहिवार गण्डकी प्रदेशको नवलपरासी (व.सू.पू) देवचुली नगरपालिका वडा नं १२ का ४९ वर्षिय एक पुरुषमा कोभिड १९ को नयाँ संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार कोभिड १९ प्रयोगशाला भरतपुरमा गरिएको परिक्षणमा उनमा नयाँ संक्रमण भएको पुष्टि भएको हो ।

अहिलेसम्म गण्डकी प्रदेशमा ७६७ जनाको नमूना संकलन गरिएको छ भने ७३६ जनाको परिक्षण नेगेटिभ देखिएको छ । २९ जनाको परिक्षण परिणाम आउन बाँकि रहेको छ । गण्डकी प्रदेशमा बिहिवारसम्म ६ जार ८४५ जनामा आरडीटी परिक्षण गरिएको छ ।

यसैबीच, बिहिवार सामाजिक विकास मन्त्री नरदेवी पुन, स्वास्थय निर्देशक विनोद विन्दु शर्मा तथा विभिन्न सरोकारवाला प्रमुख, डाक्टरहरुसंगको वैठकमा आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रको योजना तर्जुमा तथा कार्यक्रम निर्माण सम्वन्धि छलफल पनि भएको छ ।

यस्तै सामाजिक विकास मन्त्रालय, नीति योजना मापदण्ड कानून तथा जनसंख्या महाशाखाको आयोजनामा गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रमा कार्यरत साझेदार संस्थाका प्रतिनिधिहरुसंग भर्चुअल वैठक पनि गरिएको छ ।

Facebook Comments