कवि जमूना रोका र उहाँका ५ कविता

असोज १७, २०७६-समकालिन नेपाली कविता क्षेत्रमा उदियमान कविको नाम हो, कवि जमूना रोका । समाजको यर्थाथ चित्रण गर्नु, आवाजबिहिन प्रकृति वा आवाजबिहिनहरुको प्रतिनिधित्व गर्छन् उहाँका कविताले । कविलाई यहि समाजभित्रका बिचित्रका भावभंगि, असन्तुलन र वर्तमान समयसंगै पाईरहेको पीडावोधले कवितामा प्रक्षपन ताकत सिर्जना गरिदिएको छ । कतिपय किवता मिसाईल जस्ता लाग्छन्, कतिपय सिमान्तकृत वर्गका क्रन्दन जस्ता लाग्छन् । अनलाईनअन्नपूर्णको यो प्रस्तुतिमा कवि जमूना रोका र उहाँका कविता……

नाम -जमुना आर.सी.
जन्ममिति -26 Dec
माता/पिता -यमबहादुर रोका /खइन्द्र कुमारी रोका
जन्मस्थान -स्यांजा
पेशा – शिक्षण / अभिरुचि -अध्ययन, अध्यापन, लेखन, भ्रमण

1)झुटो बयान

मनको अदालतमा उभिएर
एक्कासी
बयान दिएको छ
चिहानघारीमा फुलेको
एउटा गुलाफले आज
आँसु पुछेको रूमाल
अनि त्यही रूमालमा
आँसुले लेखिएका
गीतका केही हरफहरू
हिउँ जस्तै कोमल रहर
पहेलो घाममा फुलेका
आगोका फूलहरू
पिठ्युमा बुइ चढेर हिडेका
रूमानी यादहरू
कुर्लुम्मै बोकेर
उभिएको छ आज
मनको अदालतमा
मेरै बयान दिन
तर भन्दै भन्दैन
मेरो आँखाको
हिउँ पग्लिएर
शोकाकूल भई
किनारा भिजाएको
उसैले दिएको गुलाफले
मेरो मन मुटु रेटेर
हत्या गरेको
पटकपटक आन्दोलन गरेर
मेरो मौनताको दरबार भत्काएको
यादै यादको सिरक
ओढाएर मेरा सपनाहरूको
आफै हत्यारा बनेको
बिसौनीमा पर्खीरहेको
मेरो एक मुस्कानलाई
पछाडिबाट छुरा धसेर
रक्ताम्मे बनाएको
त्यही मनमा झुन्डिएका
मेरा इन्द्रेणी रहरहरू
झिसझिसे उज्यालो मै
आफैले अपहरण गरेको
उसको आँसु पछ्याएर
हिडेका मेरा पदचापहरूमा
आँधी, हुरी र सुनामी चलाएको
खै उसले भनेको
यी सबका सब
सत्य कुराहरू नै हुन्
भन्दै भन्दैन केही पनि भन्दैन
केवल झुटो बयान लिएर
किन उभिएको हो कुन्नी
आज ऊ एक्कासी
मेरै मनको अदालतमा
सायद हुन सक्छ !!
झुट्टै झुटो बयान दिएर
मलाई नै आफ्नो
झुटो प्रेमको
हत्यारा सावित गर्न

2)आग्रह

ओ !
मेरो अनाम प्रेमी
मलाई अलिकति
रूमानी याद
रंगीन मुस्कान
गुलावी हाँसो
बादलु रोदन
बैसालु उमंग
सुनामी उत्साह
जुनेली उज्यालो
पठाइदेऊ न !
उत्सव मनाइरहेको
विहानी किरणसँगै
मैले पनि मनाउनु छ
तिमीले मनाए जस्तै गरेर
आकाशी मनलाई
जुनेली रात थमाएर
यो प्रेम उत्सव
च्यातिएको सम्झनामा
मनबाटै टिपेर दिएको
त्यो बैसालु गुलावी मन
आँखामै पुन:सजाएर
आँखैका किनाराबाट
बगाएर यादै यादको नदी
मनाउनु छ क्या मैले पनि
यो प्रेमउत्सव
ओ !!
मेरो अनाम प्रेमी
तिमीलाई फ़ुर्सत छैन नि
मलाई थाहा छ
भन न अव म तिम्रो
आँखाभरि इन्द्रेणी रंग
कसरी भर्न सक्छु
दृष्टिमा सुन्दर दृश्य
कसरी देख्न सक्छु
नदेखिएका थुप्रै
दृश्यहरूमा तिमीसँगै
कसरी फिर्न सक्छु
अतितका मीठा गीतहरू गाउदै
तिम्रो अधरभरि
कसरी चुम्न सक्छु
अँध्यारा रश्मिहरू निचोरेर
उज्याला रश्मिहरू
कसरी थमाउन सक्छु
ओ !!
मेरो अनाम प्रेमी
केही थुंगा मुस्कानहरूसँगै
बैशालु मन लिएर आऊ
अनि मधुरा साँझमा
खुसीको केन्डिल जलाऊ
प्रेमकै सुनामी चलाऊ
खुसी नै खुसी थमाउनु छ क्या
मैले पनि तिमीलाई
आऊ हामी सँगसगै मनाऔँ
प्रेमकै तकिया बिछयाएर
एकअर्कोमा रमाउँदै
यो प्रेम उत्सव !!!!!!

3)

रहर

एउटा बैसालु रहर
अलिकति मात्तिदै
अलि बेसी आत्तिदै
मेरो नजिक आयो
एक विहानै
अनि सोध्यो खुसुक्क
प्रियसी तिमीलाई
के मन पर्छ हँ ?
मैले भने
प्रिय !
मलाई ?
तिमी मन पर्छ नि
अँ
तिमी भन्दा पनि बेसी
मलाई अँध्यारो मन पर्छ
अँध्यारो भन्दा पनि बेसी
मन पर्छ
बादलिएको आकास
आकास भन्दा पनि बेसी
मन पर्छ हामी बसेको धर्ती
मन पर्छ तिम्रो पदचाप
तिम्रो पदचापसँगै
मेरो सपना जस्तै
भत्केको बाटो
पैतलाले टेकेको
आफ्नै माटो
आँसुले लेखिएको
यही माटोको कथा
कथाकी सानीको
आलो रगतको टाटो
माटोमै लेखिएका
नमेटिएका अक्षरहरू
अक्षरले बोकेको
तिम्रो सिंगो
मुटुको ढुकढुकी
प्रिय मलाई
यति चाहि
अलि बेसी मन पर्छ
फेरि मस्किदै सोध्यो
साँच्ची मलाई
चाहिँ मन पर्दैन हो ?
मैले भने बिस्तारै
उसैको रहर चोरेर
मैले तिमीलाई
मन पराउनै पर्छ भने
प्रिय आऊ आऊ
एउटा सम्भावनाको
उज्यालो बोकेर
मेरो नजिक
अनि अंगाल मलाई
आफ्नै सम्झेर
त्यसपछि
जलाऔँ हामीले
प्रत्येक अँध्यारा मनहरूमा
उज्याला दियोहरू
सँग सँगै बसेर

4 ) शैया र शल्यक्रिया

एक्लो चिहानबाट
एउटा कंकाल
जुरूक्क उठ्यो
सिंगै मुटु बोकेर
पुग्यो अस्पतालको
एउटा शैयामा
लम्पसार पर्न
मितेरी लगाउन
अप्रेसन थ्रियटर ,डाक्टर
कैंची ,चक्कु ,नर्स
आदि के के सँग
दौडियो बेस्सरी दौडियो
कम्युटरका स्क्रिनहरूमा
आशाका पहाडहरू खोपेर
मुटुकै रक्त प्रवाहमा
निरीह जीजिविषाहरू
आँखामा सजाएर
टुहुरा सपनाहरूसँगै
निदाइरह्यो लामो समय
तन्किदै गरेको जीवनको
खुम्चिदै गरेको बिछ्यौनामा
शल्यक्रिया गरेको मुटु च्यापेर
दुख्यो बेस्सरी दुख्यो
टुट्यो बेस्सरी टुट्यो
झिनो आशाको सारंगी
उदाउदै गरेको उज्यालोमै
एकैपटक आँखा जुधाई
पुलकित हुदै
पुलुक्क हेर्यौ आफैलाई
अनि च्याप्यो च्यापियो
शल्यक्रिया गरेको मुटूसँगै
अस्पतालकै शैयालाई

5) अमूर्त पिरामिड

अव बनाउनु छ
एउटा पिरामिड
जहाँ मेरो आत्मा
तिम्रो शरीर हुनेछ
अनि रहनेछ
हृदयको कर्नरमा
युग युगसम्म
तिम्रै आधा मुटुले
फेर्न सक्नेछ लामो श्वास
हरेक दिन भेट्न सक्नेछ
मेरै छाति भित्र बसेर
भेंटिदा प्रष्टै देख्न सक्नेछ
देंखिदा धड्कन सुनेर नै
प्रत्येक दिन हेरिरहदा
बाँचिरहेको हाँसिरहेको
नाचिरहेको देख्न पाउनेछ
तिम्रो आधा मुटु बोकेको
एउटा अमूर्त पिरामिड
कुनै बेग्लै संसार हुने छैन
कोरिने पनि छैन
अरू कसैको अमुर्त चित्र
हरेक कुरा क्षणिक भए पनि
यो क्षणिक हुने छैन
आउने छैन छुटिने घुम्ती
यसको नजिक कहिल्यै पनि
छुट्ने पनि छैन छाया
धर्तीमा उज्यालो रहेसम्म
तिमीलाई नै देखिरहनेछ
सृष्टिमा दृष्टि रहेसम्म
उज्यालो बनेर
जति दूर पुगे पनि
यदि कसै गरी कतै
छुट्यो भने यो
छुटे भने म पनि
छुटिने छ सारा जीवन
तर टुट्ने छैन आत्मा
त्यसैले आज मैले
तिम्रो एउटा पिरामिड
जसै बनाउनु पर्ने छ
मेरै हृदयको कर्नरमा
जहाँ तिमी हरेक पल
देखिरहन पाउने छौ

Facebook Comments