करिडोर बनेपछि बढ्यो व्यवसाय

तारानाथ आचार्य बागलुङ माघ १६ रासस

बागलुङको जैमिनी नगरपालिका–७ जैदीका बैकुण्ठ पौडेल अहिले गुल्मीको पुर्तिघाटमा व्यवसाय गरेर बस्नुहुन्छ । पाँच वर्षअघिसम्म सामान्य काम पर्दा उहाँ बागलुङ र पर्वतको कुश्मा आउनुपथ्र्यो । खाद्यान्नसहित दैनिक उपभोग्य बस्तुको खरीद गर्न हिँडेर सदरमुकाम आउनुपथ्र्यो । दूरीले नजिक भए पनि पुर्तिघाट बजार अपायक पथ्र्यो । उक्त स्थानबाट मानिसहरु सामान्य किनमेलका लागि बागलुङ र कुश्मातर्फ आउँथे ।

अहिले कालीगण्डकी करिडोर निर्माण भएर नियमित बस सेवा चलेको छ । बुटबलदेखि दैनिक बस चल्न थालेकाले सदरमुकाम आउने समयमा पुर्तिघाटका मानिस पाल्पा पुगिसक्छन् । त्यसपछि डेढ घण्टामा बुटवल पुग्न सकिन्छ । “अब प्रशासनिक काम परे जाने हो, नत्र सदरमुकाम जानुपर्दैन”, पौडेलले भन्नुभयोे, “पोखरा नपुग्दै बुटवल पुगिने भएपछि धेरै सहज भएको छ ।”, त्रिदेशीयमार्गको रुपमा कालीगण्डकी करिडोर ४१७ किमीमा चीन र भारत जोड्ने गरी निर्माण भएपछि दक्षिण बागलुङ र गुल्मीका मानिसको जीवनशैली फेरिएको छ । साथै पहिला एउटा पनि घर नभएका स्थानमा पसल र बजारको रुपमा घरैघर बन्न थालेको छ ।

होटल व्यवसाय गरेर बसेकी सरु सलामीले बस चल्न थालेपछि दक्षिण बागलुङ र गुल्मी खण्डको जीवनस्तरमै सुधार भएको बताउनुभयो । उहाँले चार वर्षदेखि होटल चलाएर राम्रो कमाई गर्न थाल्नुभएको छ । यहाँ अहिले दैनिक दर्जन बस र जिप चल्न थालिसकेका छन् । बागलुङको कुश्मीसेरादेखि दक्षिणका अधिकांश मानिसले तराई झर्न करिडोरकै बाटो समात्छन् । कुश्मीसेरादेखि बुटवल ६ घण्टामा पुग्न सकिन्छ । यो सडक कालोपत्र भएपछि चार घण्टामा बुटवल पुग्न सकिने स्थानीयवासीले बताए । यसरी सडकले बुटवल जोडेपछि कृषि उत्पादन गर्नेले सहज बजार पाउने र खाद्यान्न ढुवानीमा सहज हुने भन्दै दक्षिण बागलुङबासी खुसी छन् ।

सडक छेउमा होटल र रेष्टुरेन्ट चलाएर बस्ने धेरै छन् । उनीहरुले सामान्य पेशाबाट जीवन चलाउन सकिने बताए । “होटल पनि राम्रो चलेको छ, कतै जानुपर्दा सहजै सवारी पाइन्छ”, स्थानीय तमसम रानाले भन्नुभयोे, “करिडोरले हाम्रो दैनिकी फेरिदिएको छ ।” सदरमुकाम पुग्ने समस्या मात्र हटेको नभई घरमै फलाएका वस्तु सहजै बिक्री भएको उहाँले सुनाउनुभयो । नेपाली सेनाले यो सडकमा काम गरेको छ । चालू वर्षभित्रै यो सडकको ८० किमी खण्ड सेनाले सरकारलाई बुझाउने तयारी गरेको छ । गत महिना यो सडकको ३० किमी खण्ड बुझाइसकेको छ ।

बजेट अभावले रोखिएको बागलुङको जैमिनी नगरको जैदी छिस्ती खण्ड, गुल्मीको खड्गकोट खण्डमा काम बाँकी छ । उक्त कामका लागि बजेटको जोहो भइरहेको प्रमुख सेनानी रेश्मीराज भट्टराईले बताउनुभयो । सेनाले गरेको काममा गुणस्तर, खाल्डाखुल्डी पर्दा नियमित मर्मत र दोहोरो बस चल्ने बनेको छ । दैनिक बुटवलदेखि बागलुङको कुश्मीसेरा बस चलाएका चालक दिनेश थापाले सेनाको कामले यात्रा सहज भएको बताउनुभयो । उहाँले बुटवलदेखि कुश्मीसेरा बस चलाउन थाल्नुभएको छ ।

यो सडकले गुल्मीको कालीगण्डकी, सत्यवती र रुरु गाउँपालिकाका सयौँले पाल्पा र बुटवल मात्र नभई आफ्नै सदरमुकाम पुग्ने सहजमार्ग पनि करिडोरबाटै पाएका छन् । “पहिले पैदल रिडी पुगेर मात्र तम्घास जानुपथ्र्यो, अहिले मोटर चढेर जान पाइयो”, स्थानीयवासी भागिरथ न्यौपानेले भन्नुभयोे, “सामान बोकेर ल्याउने काम साह्रै कठिन थियो, अब सहज भयो ।” करिडोर बनेकाले पुर्तिघाट र हर्मीचौरदेखि शान्तिपुरतर्फ जाने सडक बनेका छन् । सेनाले हर्मीचौरदेखि रुद्रवेणीको विकल्पमा स्याङ्जातर्फ सडक बनाएको छ । करिडोरमा सेनाले पाँच बेलीब्रिज बनाएको छ ।

Facebook Comments