एपीएफलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वाटरफाइनलमा

सविन/पोखरा फाल्गुन २३

झापा ११ पोखरा रंगशालामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विभागीय टोलि एपीएफ क्लबलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै झापा ११ अन्तिम आठमा पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समय र अतिरिक्त समयमा १-१ गोलको बराबरीमा खेल सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा झापाका हेमन्त थापा मगर, मौषम लिम्बु, प्रमोद चौधरी, विशाल दर्जी र सन्जित राईले गोल गरे । एपीएफका नविन लामा, राजिब लोप्चन र राजु नगरकोटीले गोल गरे । तर, सुदिप शिख्राकारको प्रहार झापाका गोककिपर राजकुमार लिम्बुले बचाएका थिए ।

यसअघि खेलको निधारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा सुनिल खड्काले गोल गर्दै झापालाई १-० को अग्रता दिलाए । तर, खेल सकिन केहि समय बाँकी रहँदा आकाश बुढा मगरले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरी फर्काएका थिए ।

Facebook Comments