एपीएफलाई अन्तर्राष्ट्रिय क्रसकन्ट्रीको उपाधि

आश्विन २९, दीपक परियार-पोखरा -विभागीय टिम एपीएफले पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री प्रतियोगिताको उपाधि जितेको छ । चीन र नेपालका खेलाडीबीच बुधबार पोखरामा भएको प्रतियोगितामा एपीएफको टिमले उपाधि जितेको हो । 

पोखरामा बुधबार भएको पोखरा अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिताका सहभागी । तस्बिर : दीपक परियार/कान्तिपुर

टिममा सन्तोषविक्रम विष्ट, गणेश ठकुरी र इन्द्रकला नेम्वाङ सहभागी थिए । २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ गरी ४२.२ किलोमिटर दुरी एपीएफका खेलाडीले ४ घण्टा १७ मिनेट २२ सेकेन्डमा पूरा गरे ।नेपालकै गुरिल्ला ट्रेल टिम दोस्रो भयो । टिमका खेलाडी दामोदर बुढा, दुर्गाराज बुढा र रसिला तामाङले निर्धारित दुरी ४ घण्टा १८ मिनेट २३ सेकेन्डमा पार गरे ।

प्रतियोगितामा चिनियाँ टोली तेस्रो भयो । चेङ यिजेन, प्याङ वाइसु र लाइ युजुन सम्मिलित काइनेटिक टिमले ४ घण्टा २४ मिनेट ३३ सकेन्डमा दुरी पूरा गरे ।

प्रतियोगितामा चीनका खेलाडी टिमबाहेक व्यक्तिगत पनि भाग लिए । व्यक्तिगततर्फ बोटिङ समावेश थिएन । प्रतियोगितामा चीनमा झाङ जी पहिलो भए । उनले ३ घण्टा ३९ मिनेट २७ सेकेन्डमा निर्धिारित दुरी पार गरे । दोस्रो भएका चाङ थियानफेले ३ घण्टा ४० मिनेट १२ सेकेन्ड र तेस्रो भएका झाओ गुवानवानले ४ घण्टा १ मिनेट १२ सेकेन्डमा सके ।

प्रतियोगितामा पहिलो, दोस्रो र चौंथो (नेपालतर्फ तेस्रो) भएको टिमले चीनको कुन्मिङ सहरमा आगामी नोभेम्बरमा हुने विश्व प्रसिद्ध ‘जिआओजी’ पर्वतीय दौडमा सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा नेपालका २५ र चीनका २ टिम सहभागी थिए । व्यक्तिगततर्फ चिनियाँ २४ खेलाडीले प्रतिस्पर्धा गरे । टिम र व्यक्तिगत गरी १ सय ५ खेलाडीले प्रतियोगितामा सहभागिता जनाए ।

खेलाडीले पोखराको बाराहीघाटबाट राष्ट्रबैंक चोक, ड्यासाइड, डेभिजफल, तिब्बती क्याम्प हुँदै फुस्रेखोलासम्म दौडिए । फुस्रे खोलाबाट एक समूहले एक साइकल लिएर कमेरा, राम्दी, मट्टिखान, स्याङ्जाको रामकोट हुँदै कुभिण्डे पुगे । कुभिण्डेबाट पुनः दौडिएर उल्लेरी, खरिखानी, पैयूँ चौतारी, ओखलेडाँडा, कालावाङ, मोतीराज चोक, स्वाँरा, लुकुमस्वाँरा, तल्ला गाउँ, ढुंगेपानी, शान्तिस्तुपा हुँदै फेवाताल किनार झरे । ताल किनारबाट बोटिङ गरेर बाराहीघाटसम्मको दुरी तय गरे ।
व्यक्तिगततर्फका खेलाडीले भने शान्तिस्तुपामै दौड टुंग्याए । प्रतियोगितामा धावक मट्टिखान र पुम्दीभुम्दीको १ हजार ३ सय मिटरको उचाइसम्म पुगे ।

विजयी टिम र खेलाडीलाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले मेडल प्रदान गरिन् । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले प्रतियोगितालाई महानगरले संरक्षकत्व प्रदान गर्ने बताए । प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले आगामी वर्षमा निरन्तरता दिने गरी प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे ।

पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र चीनको कुन्मिङ पर्वतारोहण तथा अन्वेषण संघको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।

दौडमा सहभागी हुन चिनियाँ प्राविधिकसहितको टोली पोखराका आएको थियो । टोलीमा चीनका ३० धावक, त्यहाँका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसहित ६० जना छन् ।दौडलाई नेपाल पर्यटन बोर्ड, एथलेटिक्स सोसाइटी काठमाडौं, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपूर्व खेलाडी मञ्च पोखरा, सहारा क्लब लगायत विभिन्न संघ/संस्थाले सघाएका छन् । ekantipur.com

Facebook Comments