एन प्याव्सन कास्कीद्धारा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई १ लाख ११ हजार १११ सहयोग

पोखरा, २८ पुस

नेशनल प्याव्सन कास्कीले २२ औ स्थापना दिवसको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशन चितवनको रामपुरमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेको छ ।

नेशनल प्याव्सानले स्थापना दिवसकै दिनमा चितवनको रामपुर पुगी कास्की अध्यक्ष हेमन्त अधिकारीले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल १ लाख ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा एन प्याव्सनका केन्द्रीय नेताहरु र एन प्याव्सन कास्कीमा आवद्ध विद्यालयका संस्थापकहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा कास्की मोडनाइज्ड एकेडेमीका संस्थापक प्रिन्सिपल रामबहादुर मोचीले विद्यालयको तर्फबाट ५१ हजार १ सय ११ रुपैयाको चेक फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेका थिए ।

सहयोग रकम वुझ्दै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जनस्तरबाटको सहयोगले नै रंगशाला निर्माण गर्न लागेको बताए ।

‘कास्कीबाट यहाँसम्म आएर तपाईहरुले गरेको सहयोगले हामीलाई उत्साह थपेको छ’ कट्टेलले भने,‘हामी यहाँ ७७ वटै जिल्लाको संस्कृति झल्कने गरेर ७७ वटै कोठा निर्माण गर्न लागेका छौ, कास्कीबाट आएको सहयोग कास्की कक्षमा नै देखिने छ त्यसैले कास्कीबाट अझै धेरै सहयोगको अपेक्षा गरेका छौं ।’

खेलले सवैलाई जोड्ने भएकाले रंगशाला निर्माणमा सवैको सहयोगको अपेक्षा गरेको उनले सुनाए । ‘म एउटा कलाकार सँग अभियान्ता वनेर हिडेको छु’ उनले भने,‘ म यो देशको नागरिक भएकोले विकास निर्माणमा एउटा इट्टा थप्ने प्रयास मात्रै गरेको हुँ मलाई केहि स्वार्थ छैन नेपालका नागरिकको सहयोगबाट नै रंगशाला निर्माण हुने हो ।’

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले धुर्मुस सुन्तली फाउण्डेशनले गरेको महान कार्यबाट प्रभावित भएर एन प्याव्सन कास्कीले रंगशाला निर्माणमा सहयोग गरेको जानकारी दिए

‘राज्यबाट हुनु पर्ने काम व्यक्तिको पहलमा हुदै छ यो नै उहाँहरुको माहनता हो’ अध्यक्ष अधिकारीले भने,‘यो महान कार्यमा हाम्रो पनि सहभागिता जनाउँभनेर नै फिल्डमै आएर सहयोग हस्तान्तरण गरेका हौं ।’

यसैगरी स्थापना दिवसकै अवसरमा चितवनको सौराहमा विद्यालय व्यवस्थापन र नेतृत्व विकास सम्वन्धि प्रशिक्षण दिइएको थियो । उक्त अवसरमा प्रशिक्षक वोलारम पाण्डेले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा एन प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, गण्डकी प्रदेशका संयोजक याम खड्का, कास्कीका निवर्तमान अध्यक्ष रामबहादुर मोचीले बोलेका थिए । एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मनकाजी गुरुङले गरेका थिए ।

Facebook Comments