एन्फा कास्कीको कार्यवाहक अध्यक्षको जिम्मा थापालाई

सन्देश श्रेष्ठ पोखरा, माघ १६

कास्की जिल्ला फुटबल संघ (एन्फा)को कार्यवाहक अध्यक्षको जिम्मेवारी जगतबहादुर थापालाई दिइएको छ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ वैंकिङ कसुरमा पक्राउ परेपछि एन्फा कास्कीको पूर्ण बैठकले उपाध्यक्ष थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । कार्यवाहक अध्यक्षको जिम्मा पाउने थापा मनोनित उपाध्यक्ष हुन् । एन्फा कास्कीमा उनीसहित ५ उपाध्यक्ष रहेका छन् ।

एन्फा कास्कीमा निर्वाचित उपाध्यक्षहरु विश्व तण्डुकार, ईश्वर गुरुङ (चन्द्र) र सुरेन गुरुङ तथा मनोनितमा कार्यवाहकको जिम्मेवारी पाएका थापा र हरि खड्का छन् । सबैको सहमतिमा थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको महासचिव कार्कीले बताए ।

निर्वाचित र मनोनित भन्ने भएन,‘उनले भने,‘जगत दाई सिनियर दाई हो, उहाँलाई कार्यवाहक दिऔं भनेर प्रस्ताव आयो, त्यसमा हामी सबैले समर्थन जनायौं ।’ उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिदा कसैकोपनि विमत्ति नरहेको दाबी गरे । तर यो जिम्मेवारी अर्को ब्यबस्था नभएसम्मको लागि मात्र भएको एन्फा कास्कीका महासचिव रमेश कार्कीद्वारा विहीबार जारी विज्ञप्तीमा जनाइएको छ ।

अखिल नेपाल फुटबल महासंघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाको निर्देशनमा एन्फा कास्कीको बैठक विहीबार बसेको थियो । अध्यक्ष शेर्पाकै निर्देशन र सल्लाहमा थापालाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय भएको एन्फा कास्कीका महासचिव रमेशकुमार कार्कीले जानकारी दिए ।

एन्फा कास्कीको बैठक बस्नुअघी एन्फा केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई हिरासतमै गएर भेटेका थिए । मिलनसँगको भेटपछि अध्यक्ष शेर्पाले एन्फा कास्कीको बैठक राखेर कार्यवाहक अध्यक्ष तोक्न र नियमित कामकार्वाही अगाडि बढाउन निर्देशन दिएका थिए ।

एन्फा कास्कीले विगतमा भएका आर्थिक गतिविधिको छानविन गर्न केन्द्रलाई गुहारेको छ । एन्फा कास्कीको विहीबारको बैठकले एन्फा कास्कीमा विगतमा भएका सबै आर्थिक गतिविधिको छानविन गर्न केन्द्रीय समितिलाई गुहार्दै त्यसका लागि एक उच्चस्तरीय समिति गठन गर्नपनि माग गरेको महासचिव कार्कीले बताए । एन्फा केन्द्रको माघ २६ गते बस्ने बैठकले दिने थप निर्देशनका आधारमा आफूहरु अघि बढ्ने तयारीमा रहेको उनले बताए ।

एन्फा कास्कीले आगामी दिनमा फुटबलको विकासलाई गति दिन र आर्थिक पारदर्शीलाई अंगिकार गर्ने प्रतिबद्धता जनाएको छ । साथै वर्तमान परिस्थितिमा एन्फामा आबद्ध सम्पूर्ण क्लव, पूर्व अध्यक्षहरु, पूर्व राष्ट्रिय खेलाडीहरु तथा शुभचिन्तकहरुमा धैर्य गरेर एन्फालाई साथ दिनपनि एन्फा कास्कीले अपिल गरेको छ ।

वैंकिङ कसुरमा पक्राउ परेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ अनुसन्धानका लागि एक हप्तादेखि प्रहरी नियन्त्रणमा छन् । उनलाई आइतबार उच्च अदालत पोखरामा उपस्थित गराएर एक हप्ताका लागि म्याद थप गरिएको थियो । थपिएको म्याद शुक्रबार सकिदैछ ।

मंसिरको चौथो साता पोखरामा भएको तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलको टोली राख्दा दिनुपर्ने रकम मध्ये चेकमार्फत दिइएको २ लाखको चेक नसाटिएको भन्दै ओम गौरा जोस्टेल प्रालिका सञ्चालक हरिभक्त आचार्यले मिलनबिरुद्ध जाहेरी दिएका थिए । सोहि मुद्धामा अनुसन्धान गर्न मिलनलाई प्रहरीले गत शुक्रबार अपराह्न पक्राउ गरेको थियो ।

Facebook Comments