एकतिहाई मतदान स्थल अति सम्बेदनशील

सन्देश श्रेष्ठ पोखरा, मंसिर १२ । प्रतिनिधि सभाको एकमात्र निर्वाचन हुने कास्की निर्वाचन क्षेत्र नम्बर २ का एक तिहाई मतदान स्थललाई अति सम्बेदनशील क्षेत्रका रुपमा राखिएको छ । कास्की–२ मा रहेका ३२ मतदान स्थल मध्ये एक तिहाई मतदान स्थललाई अति सम्बेदनशील मतदान स्थलका रुपमा राखिएको हो ।

कास्कीको सुरक्षा निकायहरुको रिपोर्टिङ, भौगोलिक विकटता, दलहरुबीचको प्रतिष्पर्धा र चुनाव बिरोधी गतिविधी गर्ने समूहहरुको गतिविधिको आधारमा यस्तो निश्कर्ष निकालिएको सुरक्षा श्रोतले बताएको छ । कास्की–२ मा पोखरा महानगरपालिकाको ११ वटा वडाहरु पर्दछन् । यो क्षेत्रलाई पोखराको कोर सिटी एरियासमेत भनिन्छ ।

यद्वपी यस क्षेत्रमा महानगरको गाउँ भनेर चिनिने पोखरा–२० मा पर्ने मौजादेखि अर्मलाकोट र कृष्ती नाच्नेचौरसम्मको क्षेत्रपनि पर्दछ । कास्की–२ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र रहेका छन् ।

सुरक्षा सम्बेदनशीलताको आधारमा मतदान स्थललाई तीन भागमा विभाजन गरेर सोहि अनुसार सुरक्षाकर्मी खटाउने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । उनका अनुसार मतदान स्थललाई अति सम्बेदनशील, सम्बेदनशील र कम सम्बेदनशीलका रुपमा विभाजन गरिएको छ ।

पोखराको कोर सिटी एरियामा रहेका मतदान स्थललाई कम सम्बेदनशील क्षेत्र, सिटी एरियासँग जोडिएको सहरउन्मुख क्षेत्रमा रहेका मतदान स्थललाई सम्बेदनशील र ग्रामिण क्षेत्रमा रहेका मतदान स्थललाई अति सम्बेदनशील मतदान स्थलका रुपमा परिभाषित गरिएको श्रोतले बताएको छ । सम्बेदनशीलताको आधारमा सुरक्षाकर्मीपनि सोहि अनुसार परिचालन गर्ने निर्णय गरिएको कास्कीका प्रजिअ केसीले बताए ।

मतदान स्थलको सुरक्षाका लागि ३ वटै सुरक्षा निकायलाई परिचालन गरिने भएको छ । मतदान स्थलको सुरक्षाका लागि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई खटाइने प्रजिअ केसीले जानकारी दिए । उनका अनुसार मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहनेछ ।

अति सम्बेदनशील मानिएको प्रत्येक मतदान स्थलमा १५ देखि २० जनासम्म प्रहरी, २५ देखि ३० जनासम्म सशस्त्र प्रहरी र आवश्यक्ता अनुसार नेपाली सेना खटाइने प्रजिअ केसीले बताए । नेपाली सेनाको कास्कीमा रहेको गुल्मका सबै सैनिक खटाइने उनले बताए । सुगम क्षेत्रका कम सम्बेदनशील क्षेत्रमा भने कम सुरक्षाकर्मी खटाउने सुरक्षा रणनीति बनेको बताइएको छ ।

यसैबीच, मतदाता परिचय वितरण शुरु भएको छ । विहीबारबाट मतदाता परिचय पत्र वितरण शुरु गरिएको हो । यो क्रम शुक्रबारपनि जारी रहने जनाइएको छ । यसपटक थप भएका मतदाताहरुलाई सम्बन्धित मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्न शुरु गरिएको निर्वाचन अधिकारी सुबेदीले बताए ।

यसपटक कास्कीमा १ हजार २ सय २० जना मतदाता थपिएका छन् । पुराना मतदातालाई भने पुरानै मतदाता परिचय पत्र वा परिचय खुल्ने नागरिकता, लाइसेन्स वा घर जग्गाको लालपूजाका आधारमापनि मतदान गर्न दिइने जनाइएको छ ।

कास्कीका सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री पुगेको छ । मतदान हुने सबै मतदान स्थलमा निर्वाचन सामग्री पुगिसकेको निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुबेदीले जानकारी दिए । यसअघीका चुनावमा ६५ प्रकारका निर्वाचन सामग्री भएपनि यसपटक ५६ प्रकारका मात्रै निर्वाचन सामग्री रहेको उनले बताए ।

निर्वाचनका लागि झण्डै ८ सय कर्मचारी खटिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि ४५० कर्मचारी र ३२८ स्वयम्सेवक खटाइएको हो । प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, सहायक स्तरका २ कर्मचारी र १ जना कार्यालय सहयोगी गरी कम्तिमा ५ जना कर्मचारी खटाइएको छ ।

मतदाता संख्या हेरी स्वयम्सेवक राखिने भएकाले कुनैकुनै मतदान स्थलमा ८ जनासम्म कर्मचारी खटाइएको निर्वाचन अधिकारी सुबेदीले बताए ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन । यसअघीको निर्वाचनमा कुल ७० हजार ६ सय ५१ मतदाता रहेको कास्की २ मा अहिले १ हजार २ सय २० जना मतदाता थपिएर ७१ हजार ८ सय ७१ पुगेको जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुबेदीले जानकारी दिए ।

Facebook Comments