उद्यमशिलता विकास तालिम सुरु

पोखरा, ११ फागुन

गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले पूजींको व्यवस्थापन विना उद्यमशिलताको विकास नहुने बताएका छन ।

पोखरा चेम्बर अफ कमर्स कास्कीर घरेलु तथा साना उद्योग कार्यालय कास्कीले सयुक्त रुपमा आयोजना गरेको उद्यमशिलता विकास तालिमको आइतबार उद्घाटन गर्दै सभापति कोइरालाले उद्योगी व्यवसायीले समय, श्रम र पुजींको व्यवस्थापनमा ध्यान दिन सुझाव दिए ।

उनले आम्दानी र खर्चको तालमेल गर्दै बजार केन्द्रीत व्यवसाय गर्न आग्रह गरे । सभापति कोइरालाले बजार र पुजींको सन्तुलन नमिलाए लगानी अनुसारको प्रतिफल पाउन कठिनाई भएको बताए ।

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष यदुनाथ अधिकारीले तालिमले उद्योगी व्यवसायीको सिप दक्षता अभिबृद्धिको लागि सहयोग पुग्ने बताए ।

पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनारले तालिममा कर शिक्षा, लेखा प्रणाली, उत्पादन र बजारीकरण, बीमा, बैंक तथा वित्तिय संस्थाको भूमिका, उद्योग दर्ता व्यवसायीक योजना लगायतका विषयमा तालिम दिने बताए । घरेलु अधिकृत महराज ढकालले १० दिने तालिममा ३० वटा कक्षा सञ्चालन हुने जानकारी दिए ।

तालिमले उद्योग व्यवसायलाई परिस्कृत गर्न सहयोग पुग्ने उल्लेख गर्दै उनले तालिम पछिको प्रमाणपत्रले सरकारी सेवा र सहुलियत लिन सहयोग पुग्ने बताए ।कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेल, उद्योग तर्फका उपाध्यक्ष गिता तिवारी गौतम, महासचिव उमराज बास्तोला, पोखरा चेम्बर उत्तरी क्षेत्रका अध्यक्ष विष्णुप्रसाद बास्तोला लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments