उत्तर कोरिया र अमेरिकाबीचको वार्ता स्टकहोममा शुरु

स्टकहोम, १८ असोज (रासस-एएफपी) – उत्तर कोरिया र अमेरिकी अधिकारीहरु उत्तर कोरियाली आणविक कार्यक्रमका विषयमा वार्ता गर्न शनिबार स्वीडेनको स्टकहोम आइपुगेका छन् ।

पछिल्लो समय उत्तर कोरियाली लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेकै समयमा दुबै देशका वरिष्ट अधिकारीहरु वार्ताका लागि भेला भएका हुन् । उत्तर कोरियाका किम म्योङ गिल र उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिफेन बाइगनले वार्ता टोलीको नेतृत्व गरिरहनुभएको छ ।

स्वीडेनकी विदेश मन्त्री आन लिन्डले अमेरिकी र उत्तर कोरियाली अधिकारीहरुले स्वीडेनलाई वार्तास्थल छनौट गरेकामा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले आणविक निःशस्त्रीकरण र शान्तिपूर्ण समाधानका लागि संवाद नै एकमात्र उपयुक्त विधि रहेकामा जोड दिनुभयो ।
उत्तर कोरियाली आणविक निःशस्त्रीकरणका विषयमा यस्तै किसिमका वार्ता सन् २०१८ र यसैवर्षको जनवरीमा पनि स्वीडेनमा भएका थिए ।

उत्तर कोरियाले वार्ताका लागि दबाब सिर्जना गर्न क्षेप्यास्त्र परीक्षण र नयाँ हातहतियारको प्रदर्शनीलाई निरन्तरता दिइरहेको छ । विज्ञहरुले उत्तर कोरियाली यस रणनीतिले केही फाइदा पुगेको बताएका छन् ।

Facebook Comments