इद उल फित्रले सबै नेपालीको आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ तुल्याउने छः राष्ट्रपति भण्डारी

काठमाडौँ, ११ जेठ

राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीले मनाउँदै आएको महान् पर्वका अवसरमा उहाँले आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीले आक्रान्त पारिरहेकाले यस महामारीबाट बच्न नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य भएको पनि सन्देशमा उल्लेख गर्नुभएको छ । सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै रहेर सुरक्षित बनेर पर्व मनाउने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

इद उल फित्र आवश्यक सावधानी अपनाएर मनाउन उपराष्ट्रपतिको आह्वान

उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको प्रतिकूल परिस्थितिमा इस्लाम धर्मावलम्बीले घरघरमै बसेर इद उल फित्र पर्व मनाउने विश्वास व्यक्त गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको बेला पर्व आवश्यक सावधानी अपनाएर पर्व मनाउनुपर्ने बताउनुभयो ।
उहाँले यस महान् पर्वका अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विभिन्न समुदायका चाडपर्व, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको सन्देशमा उल्लेख गर्नुभएको छ ।
नेपालमा कोरोना भाइरसबाट तीन जनासहित विश्वका विभिन्न देशमा जीवन गुमाएका धेरै नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति श्रद्धाञ्जलि र उहाँहरुका परिवारजनमा समवेदना व्यक्त गर्नाका साथै सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उपराष्ट्रपति पुनले देशमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन तीव्र भएकाले एक जुट भएर यसविरुद्ध लड्न र विजय प्राप्त गर्नाको विकल्प नभएको पनि सन्देशमा जनाउनुभएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहका सरकारले चालिरहेका कदम अझै प्रभावकारी बन्दै जान विश्वास व्यक्त गर्दै उहाँले सरकारको प्रयासमा पूर्ण साथ दिन सबैलाई आग्रह गर्नुभएको छ ।

इद उल फित्रबाट भ्रातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछः सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले इद उल फित्र पर्व मनाउनेक्रममा कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको इद उल फित्र (इद) पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश दिने बताउनुभयो ।
नेपालमा मनाइने यस्ता पर्वले हामीबीच एकता र आपसी सद्भाव बढोत्तरी हुने विश्वास व्यक्त गर्दै सभामुख सापकोटाले इद उल फित्रमार्फत यस कठिन घडीमा हामीबीचको भ्रातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछ भन्ने कामनासमेत व्यक्त गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाबाट मानवजातिलाई जोगाउन एकतामा जोड

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले यसै अवसरमा सन्देश दिँदै पर्वले नेपाली जनसमुदायमा आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सरकारको आग्रहलाई पालना गरी दूरी कायम गर्दै पर्व मनाउन सम्पूर्ण मुसलमान समुदायमा आग्रह गर्नुभएको छ ।
कोरोना भाइरसको महामारीबाट सम्पूर्ण नेपाली जनता तथा विश्व मानव जातिलाई कसरी जोगाउने भन्नेमा हामी सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले रोगका कारण दिवङ्गतप्रति श्रद्धाञ्जलिका साथ सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

एकता र सहिष्णुताका पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्न प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गर्नुभएको छ । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहनु भएका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उहाँले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताउनुभयो ।
बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा यस्ता पर्व र विशेषता यहाँ मौलिक पूँजीका रुपमा रहेको बताउँदै एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने जनाउनुभएको छ । विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु मुलुकमा सम्मानित र संरक्षित भएको बताउँदै प्रधानमन्त्रीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गर्नुभएको छ ।

विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान –प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गर्नुभएको छ । आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान भएको बताउनुभएको छ ।
उहाँले बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्ने बताउनुभएको छ । सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोभिड–१९ ले समानरुपले आक्रमण गरिरहेकाले यस महामारीविरुद्धको सङ्घर्षमा एकताबद्ध प्रतिरोधका लागि सबैमा आग्रह गर्दै अध्यक्ष प्रचण्डले भन्नुभएको छ, ‘‘इदुल फित्र चाडका अवसरमा मुस्लिम समुदायमा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्दछु ।’’

इद उल फित्रले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिने सभापति देउवाको विश्वास

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना (इद मुवारक) व्यक्त गर्नुभएको छ ।
उहाँले शुभकामना सन्देशमार्फत पवित्र इद उल फित्र पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहँदै आएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाइ अझ बढी जिम्मेवार हुने उल्लेख गर्नुभएको छ ।
कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरीलाई कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । ‘इद उल फित्र’ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने विश्वास व्यक्त गर्दै सभापति देउवाले इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ ।रासस

Facebook Comments