आलममाथिको अनुसन्धानमा दवावमुक्त र स्वतन्त्र भएर सहयाेग हुन्छ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस सांसद मोहम्द अफ्ताव आलममाथिको अनुसन्धान दवाव मुक्त र स्वतन्त्र हुनुपर्ने बताएका छन्।

शुक्रबार पार्टीका नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोलेको विषय मिडियाले बङगाएको भन्दै देउवाले शनिबार विज्ञप्ति जारी गर्दै स्वतन्त्र अनुसन्धानमा कांग्रेसको सधै साथ रहने बताएका हुन् ।

उनले मुद्दाको अनुसन्धान ढिलागरी सुरु हुदा प्रमाण नष्ट हुन सक्नेतर्फ संकेत गर्दै आफुले गम्भीर मुद्दामा प्रक्रियागत ढिला सुस्ती हुदा सत्य तथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्ने धारणा राखेको बताएका छन्।

‘नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा व्यक्त धारणाले उत्पन्न गरेको केही अन्यौल र अस्पष्टता चिर्न यो विज्ञप्ति जारी गरेको छु’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्बेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ बर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ ।’

देउवाले कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने पनि विज्ञप्ति मार्फत स्पष्ट पारेका छन्।

‘मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ । निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु’ विज्ञप्तिमा भनिएको छ।

Facebook Comments