आयामेली आन्दोलनका अगुवा वैरागी काइँलालाई लेखनाथ साहित्य पुरस्कार

अनलाईनअन्नपूर्ण/पुस ०९, पोखरा -वरिष्ठ साहित्यकार तिलविक्रम नेम्वाङ “वैरागीकाइँला”लाई २०७६ सालको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्तिदेवी भट्टराईका परिवाजनद्वारा स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित उक्त पुरस्कार कवि शिरोमणिको १३६ औं जन्मजयन्तीको अवरसमा यहि पौष १५ गते कवि शिरोमणिको जन्मस्थल पोखरा–२७ अर्चलेमा एक विशेष कवि सम्मेलन आयोजना गरी रु ५० हजार राशि सहितको उक्त पुरस्कारद्वारा उहाँलाई सम्मान गरिने भएको छ ।

वि.सं. १९९६ श्रावण २५ गते पाँचथर जिल्लामा जन्मनु भएका काइँलाका एक दर्जन भन्दा बढी साहित्य र संस्कृतिसँग सम्बन्धित कृतिहरु प्रकाशित छन् र दर्जनौ संघ संस्थाहरुबाट पुरस्कृत एवं सम्मानित भइसक्नु भएको छ । आयामेली साहित्यिक आन्दोलनका एक सशक्त खम्बा काइँला नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति भईसक्नु भएको छ । यसअघि उक्त पुरस्कारबाट नेपाली शिक्षा परिषद्, बासुदेव त्रिपाठी, मदनमणि दिक्षित, धर्मराज थापा, मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय, बालकृष्ण पोखरेल, जगमान गुरुङ र वसन्तकुमार शर्मा पुरस्कृत भई सक्नु भएको छ ।

पौष १५ कै कार्यक्रममा कवि शिरोमणिकी कान्छी छोरीका नाममा स्थापित रु १० हजारको कुन्तिदेवी शिक्षा पुरस्कारबाट पोखरा महानगरपालिकाका माध्यमिक विद्यालयहरु मध्येबाट गतबर्षको एस.ई.ई मा छात्रातर्फ सर्वोत्कृष्ट ग्रेड प्राप्त गर्ने अमरसिंह मा.वि. की सोनिका ढुङ्गानालाई, प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालद्वारा आफ्ना बाबाको नाममा स्थापति लक्ष्मीआदर्श मा.वि.का विजय सापकोटालाई रु ५ हजारको चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार, आमाका नाममा स्थापित रु ५ हजारकै मधुमाया ढकाल शिक्षा पुरस्कार जनज्योति मा.वि. का आशिष अधिकारीलाई र ढकालकी बहिनी अम्विका ढकालद्वारा आमाका नाममा स्थापित रु ५ हजारको फणिन्द्र कुमारी ढकाल शिक्षा पुरस्कार लक्ष्मीआदर्श मा.वि. की कविता भट्टराईलाई प्रदान गरिने छ ।

यसैगरि कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालय, पोखरा–२७ र लेखनाथ आधारभूत विद्यालय, पोखरा–२८ का सम्पूर्ण विद्यार्थीहरुलाई कुन्तिदेवी छात्रवृत्ति वितरण गरिने छ । वि.सं. २०६७ साल देखि प्रदान गरिदै आएको लेखनाथ साहित्य पुरस्कार, कुन्तिदेवी शिक्षा पुरस्कार एवं छात्रवृत्ति कोषमा रु १६ लाख ६ हजार ७ सय ७७ रहेको छ । जस्मध्ये कविशिरोमणि की नातिनी डा. प्रतिभा पाण्डेको अग्रसरतामा कुन्तिदेवी भट्टराइका परिवारजनबाट रु १३ लाख एक हजार, कवि शिरोमणि रचनावलीको विक्रीबाट रु ३ लाख पाँच हजार र पद्मराज ढकाल एकल साँझबाट बचत भएको रु एक लाख सातसय सतहत्तर रुपैया रहेको छ । यसैगरि चन्द्रकान्त ढकाल, मधुमाया ढकाल र फणिन्द्र कुमारी ढकाल शिक्षा पुरस्कारका निमित्त रु २ लाख पचास हजार रुपैयाको अक्षयकोष रहेको छ ।

लेखनाथ साहित्य पुरस्कार २०७६ को प्रतिभा छनौट उपसमितिमा अध्यक्ष डा. शुक्रराज अधिकारी, सदस्यहरुमा प्रा.डा. रविलाल अधिकारी, डा. प्रतिभा पाण्डे, रमा शर्मा र प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेल रहनु भएको लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्य्मराज ढकालले जानकारी दिनुभएको छ ।

Facebook Comments