आठौं मिस नेवा प्रतियोगिताको तयारी तिब्र

सविन रेग्मीे पोखरा २९ पुस ।

नेवा खलः कास्कीको आयोजनामा आठौं मिस नेवा पोखरा ११४० हुने भएको छ ।
आयोजक नेवा खलः कास्कीले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेवारी कला र संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले यो कुनै सुन्दरी प्रतियोगिता भन्दापनि संस्कृति जोगाउने अभियान भएको बताए । प्रतियोगितामा सहभागीहरुलाई व्यक्तित्व विकाश, नेवारी भाषा, कला, संस्कारका साथै समग्र पोखराको बारेमा प्रशिक्षण दिईने अध्यक्ष पालिखेको भनाई छ । प्रतियोगितामा १ सय ४९ जना युवतीहरुको सहभागिता रहेको छ ।

प्रतियोगिता सफल बनाउन विभिन्न १७ उपसमिति समेत गठन गरिएको छ । अघिल्ला बर्षहरुमा प्रत्येक बर्ष हुँदै आएको प्रतियोगिता यसबर्ष देखि भने २÷२ बर्षमा आयोजना हुने संयोजक विमल श्रेष्ठले जानकारी दिए । १६ देखि २२ बर्ष उमेर समुहका युवतीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगीहरुले माघ १० गते सम्म आवेदन दिन सक्नेछन् । प्रतियोगिताको अडिसन १२ गते नेवा छे मा हुने छ । माघ १७ गतेबाट प्रशिक्षण सुरु हुने प्रचारप्रसार संयोजक अनिशा श्रेष्ठले बताईन् । प्रतियोगितामा सहभागी युवतीहरुलाई काठमाण्डौं, पाटन र भत्तपुरका विभिन्न स्थानहरुका बारेमा समेत अवलोकन गराइने छ । प्रतियोगिताको फाइनल आगामी चैत ८ गते पोखरा सभागृह हलमा हुने छ ।

मिस नेवाको विजेताले रु ४० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १५ हजार, गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् । त्यसैगरी उत्कृष्ट नेवारी भाषालाई ७ हजार, भ्युअर्स च्वाइस ५ हजार, मस्ट टयालेण्ट ५ हजार, बेष्ट पर्सनालिटी ५ हजार, बेष्ट फ्रेण्डली ५ हजार, बेष्ट स्माइल ५ हजार र फोटो जेनिकले रु ५ हजार प्राप्त गर्न सक्ने छन् ।

Facebook Comments