आज (भोली) देखि तेस्रो बृहत् शैक्षिक प्रदर्शनी प्रदर्शनीकेन्द्रमा

पोखरा , २३ मंसीर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गर्न लागेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको तयारी पुरा भएको छ ।

प्रदर्शनीका लागि गठित विभिन्न उपसमितिले आ–आफ्नो तयारी पुरा गरेको नेशनल प्याव्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । प्रदर्शनी मंसिर २४ देखि २७ गते सम्म पोखरा प्रदर्शनीकेन्द्र नयाँवजारमा चल्ने छ ।

प्रदर्शनीको उद्घाटन मंगलबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गर्नेछन् । प्रदर्शनीमा नेशनल प्याव्सानमा आवद्ध ४६ वटै विद्यालयका विद्यार्थीहरुले विषयगत विधाका सृजनाहरु तयार पारिसकेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

‘एन प्याव्सानले गरेको वृहत् शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरुको उत्साह वढेर आएको छ’ अध्यक्ष अधिकारीले भने,‘प्रदर्शनीले र गर र सिक भन्ने कुरालाई प्रष्ट्याएको छ ।’ लामो समय लागेर सृजना गरेका विषयगत विधाका सामाग्रीहरु मंगलबार पोखरा प्रदर्शनी केन्द्रमा प्रदर्शन गर्दै छन् । शैक्षिक प्रदर्शनीमा पाठ्यक्रममा आधारित विविध विषयका शैक्षिक सामग्रीहरु शिक्षकहरूको प्रत्यक्ष संलग्नतामा विद्यार्थीहरूले निर्माण गरेका छन् ।

त्यसैगरी मंसीर २७ गते लोकनृत्य प्रतियोगिता गरिने लोकनृत्य व्यवस्थापन उपसमितिको संयोजकमा प्रेमराज अधिकारीले जानकारी दिए । लोकनृत्य ७ देखि १२ जनाको समूहमा प्रस्तुती राख्नेछन् । लोक भाषा संस्कृति झल्कने गितामा समूहमा प्रस्तुत गरिने प्रतियोगितामा पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

शैक्षिक प्रदर्शनीमा पूर्व प्राथमिक तह, गणित, विज्ञान तथा प्रविधी, सामाजिक अध्ययन, भाषा अङ्ग्रेजी र नेपालीका विषयगत विधाहरू रहेका छन् । प्रदर्शनीमा नेशनल प्याव्सान कास्कीका ४६ वटै विद्यालय सहभागिता रहने र करिव १ लाख वढिले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रदर्शनीमा करिव ११ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ भने प्रवेश निशुल्क राखिएको छ ।

‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका आयोजना गर्न लागेको उक्त प्रदर्शनीलाई सफल बनाउनका लागि विभिन्न १० वटा उपसमिति गठन गरिएको छ ।

शिक्षण सिकाइमा नयाँ प्रविधिसग प्रत्यक्ष साक्षात्कार गराई बालबालिकामा अन्तर्निहित सिर्जनशीलता जागृत गराउदै भविष्यमा राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादनतर्फ अग्रसर गराउन एन प्याव्सान कास्कीले एक वर्ष खेलकुद महोत्सव र एक वर्ष शैक्षिक प्रदर्शनी तथा लोक नृत्य प्रतियोगिता गर्दै आएको छ ।

Facebook Comments