आचारसंहिता उल्लंघन नभएको वडाध्यक्ष पौडेलको दाबी(विज्ञप्ति)

अअ/मंसिर ४ पोखरा-पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेलले आफुले निर्वाचन आचारसंहिता विपरित कार्य नगरेको बताएका छन् । बुधबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी वडाध्यक्ष पौडेलले सामाजिक कार्यमा आफु सहभागी भएको विषयलाई चुनावी आचारसंहित उल्लघंन भन्न नमिल्ने उनको दावी गरेका छन् ।

‘विशुद्ध सामाजिक सेवामा समर्पित संस्थाले आमन्त्रण गरेको र सोही आमन्त्रणलाई स्वीकार गरी कार्यक्रममा भाग लिएको विषय नितान्त सामाजिक हो, वडाध्यक्ष जस्तो सबैको साझा व्यक्तिले भाग लिनुलाई चुनावी आचारसंहिता उल्लघंन गरेको कदापी भन्न मिल्दैन’ विज्ञप्तिमा भनिएको छ । उनले राजनीतिक पुर्वाग्रह सहित आफुलाई आरोप लगाएको भन्दै वडावासीको साझा प्रतिनिधिलाई विवादमा ल्याउन नहुने बताएका छन् ।

यसअघि मंगलबार पोखरा महानगरपालिका वडा नम्बर १५ पटनेरीका १२ विपन्न परिवारलाई कम्बल वितरण गर्ने कार्यक्रममा वडाध्यक्ष प्रकाश पौडेल उपस्थित हुनु निर्वाचन आचार संहिता विरित हुने नेपाली काग्रेसले आरोप लगाएको थियो । काग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा समेत उजुरी दर्ता गराएको थियो ।

सो उजुरीका बारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडाध्यक्ष पौडेलसँग जवाफ मागेपछि वडाध्यक्ष पौडेलले बुधबार आफुले निर्वाचन आचारसंहिता विपरितको कार्य नगरेको भन्दै जवाफ पठाएका छन् । उनले थ्रि एन्जल नेपालले वडाध्यक्षको हैसियतमा कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन आग्रह गरे अनुरुप आफु सो कार्यक्रममा सहभागी भएको प्रष्ट पारेका छन् । थ्रि एन्जल नेपाल उद्धार रोकथाम र पुर्नस्थापनाको माध्यमबाट मानव बेचविखनको विरुद्धमा काम गर्दै आएको सामाजिक संस्था हो ।

Facebook Comments