असार २२ पहिचान गुमाएको कालो दिन, उदेश्य “हिमाल, पडाड र मधेशलाई जोडेर जाने हो :आचार्य(video)

by-aarju

आरजू विष्ट सल्यानी/अनलाइनअन्नपूर्ण/पोखरा, असार २२

गण्डकी प्रदेश सभा सदस्य, हरिशरण आचार्यको तात्तातो बिचार यो हो कि, अधिकार चाहनेहरुको लागि, परिवर्तन चाहनेहरुको लागि, मुक्ति चाहनेहरुको लागि सच्चै नै असार २२ गतेको दिन चाहना अनुसारकै होस् भनेर हामीले पर्खिरहेका थियौं । दूरभाग्य जो उत्पिडित थिए, जस्लाई उपेक्षा गरिएको थियो उनिहरु मुक्त भएको कुरा सुन्न र सुनाउन सकिएन ।

शाहवंशीय राज्य प्रणालीबाट, त्यसका पक्षधरहरुबाट जो उत्पिडित बने, बन्दै आईरहेका छन् ति सबैलाई न्याय र मुक्तिको दिन बनाऔं भनेर हामीले धेरै सल्लाह गरेका थियौं तर त्यो दिन हाम्रा लागि पहिचान नपाएको दिनमा रुपान्तर गरिएकोले हाम्रो प्रदेश पहिचान गुमाएको दिनको रुपमा दर्ज भएको छ । अर्थात असार २२ गतेको दिनलाई हामीले कालो दिनको रुपमा सूचित गरेका छौं, जुन दिन प्रदेशको ना गण्डकी भनेर राखियो ।

यहाँ सबैको आआफ्नो स्वार्थ हुने रहेछ । कतिपय उत्पिडित जाति, समुदायको नेतृत्व गर्ने, राजनीति गर्ने व्यक्ति र केहि साथीहरुले निर्लज्ज ढंगले गण्डकी प्रदेशलाई समर्थन गरेर इतिहासमा कलंकीत हुने काम गर्नुभएको छ, उहाँहरुलाई क्षमा दिने ठाउँ कहिंपनि छैन । जनजातीको आन्दोलन भयो । उत्पिडित, उपेक्षित, मधेशी, थारु समुदायको आन्दोलनलाई उहाँहरुले बेवास्ता गर्नुभयो र कथित जाति समुदायको नेतृत्व गर्ने भन्ने नाममा व्याज खाने काम गर्नुभयो, फलस्वरुप आन्दोलनको महत्व र औचित्यलाई उहाँहरुले पुष्टि हुन दिनुभएन ।

यो एउटा उपेक्षितहरुको मुक्ति र परिवर्तनको विषयवस्तु हो । राजनीतिक रुपमा हामीले परिवर्तनको महत्वपूर्ण विशेष समयको रुपमा बुझ्नु पर्छ । हामीले चाहेका सबै माग पूरा भएका छैनन् । संविधान आफैंमा पूरा भएको छैन । हामीले पटक पटक भनिरहेका छौं, अपूरो संविधानको कारण ति मागहरु पूरा हु्न सकेका छैनन् तर ति माग एक दिन अवस्य पूरा हुन्छन् । उत्पिडित, उपेक्षित समुदायको जित हुनेछ, हामीले आशा गरिरहेका छौं ।

हिजोका दिनमा हामीसंग सम्झौता भए । तर तिनको सुनुवाई भएको छैन । हिजो त्यहि मुद्धामा सवाल जवाफ गर्ने, साथ दिने साथीहरु अहिले पनि संसदभित्र हुनुहुन्छ । धेरै दुःख, त्याग गरेर संसदमा पुग्नु भयो, त्यहि पहिचानको मुद्धालाई उठाएर जानुभयो तर आज निर्लज्ज ढंगले गलत प्रवृत्तितर्फ कसरी लिन हुनुभयो ? मलाई त अचम्म र उहाँहरु प्रति दया लागेर आउँछ । संसदमा साथीहरु आँशु झारेर रुनु पनि भयो तर परिवर्तनको मुद्धामा उहाँहरुले खुट्टा कमाउनु भयो ।

बिपदमा नयाँ संभावना खोज्नुपर्छ, जिम्मेवारी राज्यको

अहिले मुलुकमा कोरोनाको कहर छ । हामीले बिपदमा नयाँ संभावना खोज्नुपर्छ । बिपदबाट कहिल्यै पनि डराएर बस्नु हँुदैन । सुरुवातमा हाम्रा केही कमजोरी भएकै हुन यस्लाई सबैले स्वीकार गर्नुपर्छ र वढी राज्य जिम्मेवार बन्नुपर्छ । हाम्रा लागि कोरोनाको प्रकोप विश्वमा फैलिरहेको छ भनिरहेको बेलामा पूर्र्व तयारीका लागि प्रशस्त काम गर्ने समय थियो तर राज्यले व्यवस्थित ढंगले त्यसको तयारी गर्न सकेन । धेरैपछि पनि बाहिरबाट आउने नागरिकलाई व्यवस्थित गर्न नसक्दा र वजेटलाई उचित ढंगले सम्वन्धित सबै तहका निकायमा पुर्याएको भए अहिलेको संक्रमणको मार र खर्चलाई हामीले भोग्नु पर्ने थिएन ।

सरकारको कर्तव्य र भूमिका के हो ? त्यसलाई हामीले हेर्नुपर्छ । हामी पनि जनताको नेतृत्वकर्ता हौं तर औपाचारिक रुपमा राज्यले जिम्मेवारी लिनु पर्यो नि जनतालाई परेको अफ्ठेरोको जिम्मेवारि, तर राज्यले त्यसो गरेको देखिएन । पीसीआर परिक्षण, उपचार र व्यवस्थापनको तयारी सहि ढंगले नगर्दा, जनशक्तिलाई ठीक ढंगले परिचालन नगर्दा अहिले समस्या भोग्नु परेको हो ।

क्वारेन्टाईनमा मानिस एक महिनासम्म बस्नु परेको छ । राज्यले जनताको स्वास्थ्य र जीवन रक्षाको लागि बेलैमा व्यवस्थापन गर्न नसकेको कुरा जनताले अनुभूति गरिरहेका छन् नि । भारतसंग खुल्ला सिमाना भएका क्षेत्रमा त्यहाँबाट आउनेहरुको लागि बेलैमा पीसीआर मेसिन खरिद गरेर १० ठाउँमा परिक्षण केन्द्र खडा गरेर, अवस्था हेर्दै नगरिकलाई जिल्ला जिल्लामा सुरक्षित तवरले पठाउन सकेको भए अहिलेको अवस्था आउने नै थिएन । त्यो गर्न नसक्दा त्यहिं संक्रमण फैलियो र नागरिकहरु जब सिमा पार गरेर आए संक्रमितको दर फैलियो, संख्या ह्वात्तै वढ्यो ।

हाम्रो उपचार पद्धती कमजोर भयो

हामी अझैं आत्तिनु पर्ने अवस्था होईन तर नेपालमा हामी अति जोखिमपूर्ण अवस्थामा छैनौं भन्ने अवस्था पनि छैन । हाम्रो उपचार पद्धती कमजोर रहेको छ भने राज्यले भएको जनशक्तिलाई सबै ठाउँमा पुर्याउने कुरामा अपुग भएको छ ।

केहि राजनीतिक प्रतिशोधको कारण र गन्धले काम गरिरहेको छ । अन्य निजी अस्पतालाई प्रहयोग गर्ने कुरामा राजनीतिक गन्धले काम गरिरहेको छ । पश्चिमाञ्चल अस्पतालमा नयाँ भवन प्रयोग गर्ने कि नगर्ने भन्ने कुरामा केन्द्रको हस्तक्षेप भईदियो । निर्माणको कामलाई ढिला गरिदियो र त्यहाँ प्रतिशोधले काम गर्यो । हामीसंग भएको चीज पनि परिचालन गर्न सकेका छैनौं । बाग्लुङकै कुरा गरौं न, त्यहाँ पीसीआर मेसनि छ तर आवस्यक पूर्वाधार पूरा गर्न नसक्दा काम हुन सकेको छैन । हामीसंग भएका चीज परिचालन गर्न नसक्नु त राज्यको कमजोरी हो नि ।

हामीसंग वजेटको अभाव होईन, समस्या भ्रष्टाचार

हामीसंग वजेटको अभाव होईन । सम्पूर्ण विकासका कामहरु रोकेर जनताको जीवन रक्षाको काम गर्नुपर्छ भन्ने पक्षमा हामी रहेका छौं । खर्च नगर कसैले भनेको छैन तर नागरिकले खर्चलाई पारदर्शि रुपले गर भनेर भनेको कुरा न हो । स्वास्थ्य सामग्री खरिदमा देखिएन ? ओम्नीले एउटा दरमा ल्यायो अनि नेपाली सेनाले त्यहि सामग्रीलाई कम मूल्यमा ल्यायो भने त्यहाँ भ्रष्टाचार भएन भनेर कसरी भन्न सकिन्छ ? कोरोनाले आक्रान्त बनाईरहेको बेलामा भ्रष्टाचारको अवस्था त यस्तो छ भने अरु परिस्थितिमा के होला ? हामी सर्वहारा वर्गको नेतृत्व गर्ने, कम्यूनिष्टको आचरण, मूल्य मान्यता, संस्कारबाट आएको भनेकै हो । त्यहि अवस्था अहिले भनेकै जस्तो छ त ? कति विकृत भएको छ । म माओवादी आन्दोलनबाट ८, ९ वर्ष भूमिगत राजनीति गर्दै आएको मान्छे हुँ । तिनै मान्छेहरु, हाम्रा साथीहरु, अग्रजहरु त्यहि संस्कारबाट आएकाहरु अहिले उनिहरुको भ्रष्टिकरणको यात्रा चलेको छ । तिनै भ्रष्ट भएर आए । गोबरमा डुबेर आएपछि त, म गन्हाएको छु कि छैन भनेर ख्याल गर्नुपर्छ नि, त्यो पनि ख्याल गरेनन् ।

परिवर्तन संगसंगै कांग्रेस, एमाले भन्दा माओवादीबाट केहि आशा गरिएको थियो । जनताले पहिले पनि बनाएका हुन । तर एमालेसंग मिलिसकेपछि हेर्ने हो भने कांग्रेसले हिजोका दिनमा १० प्रतिशत भ्रष्टाचार गरेको थियो भने आज नेकपामा साथीहरुले १०० प्रतिशत भ्रष्टाचार गरिरहेका छन् । अहिले अख्तियारले छुन नसक्ने गरी सेनालाई विवादीत बनाउने गरी भ्रष्टाचार गर्न र कसिन लिन लगाईयो । अहिले कति पीडाको अवस्था छ । कोरोनाले अर्थतन्त्र थिलथिलो भईरहेको छ । यो बेलामा भ्रष्टाचार हुनु भनेको नेपालको लागि संकटको परिस्थिति निम्तिनु हो । यहि संकटलाई टार्न भनेर नकारात्मक ढंगले प्रयोग गर्नको लागि प्रधानमन्त्री कहिले कांग्रेससंग वार्ता गर्दै हुनुहुन्छ र हाम्रै पाटीसंग अनौपचारीक ढंगले कुरा गर्न खोजेपनि हामीले त रिजेक्ट गरिदिएका छौं ।

पूराना गल्ति कमजोरीलाई ढाकछोप गर्ने र अगाडी वढ्ने रणनीति

अहिले राजनीतिक दिशा परिवर्तन हुन लागेको हो त ? भन्ने प्रश्नमा के छ भने, सरकारले एक पछि अर्को घटनाक्रमलाई निम्त्याएर पूराना गल्ति कमजोरीलाई ढाकछोप गर्ने र आफु अगाडी वढ्ने रणनीति बनाएको छ । जब कोभिडको सामग्री खरिदमा भ्रष्टाचारको कुरा आयो प्रधानमन्त्रीले चुच्चे नक्शाको मुद्धा ल्याएर अव्वल दर्जाको राष्ट्रवादी चरीत्र देखाउन खोज्नु भयो । हिजो नाकावन्दिको बेलामा देखाउन खोज्नु भयो र त्यसको व्याज खाएर राजनीतिक अग्राधिकार लिन अगाडी वढ्नु भयो ।

दोश्रो अहिले म भन्दा अरु राष्ट्रवादी छैन भन्ने देखाउन, मधेशलाई एक्ल्याउनु पर्ने थियो, जाती, जनजातीलाई एक्ल्याउन खोज्दा अन्तिममा आएर खुट्टामा हान्न लागेको बन्चरो टाउकोमा बज्रियो । संसदमा गएर राजेन्द्र महतो र उपेन्द्र यादवले बोलेपछि कुरा प्रष्ट भयो । पार्टी फुटाउने सम्मको योजना थाहा पाएपछि हामीले रातारात दुई पार्टी मिलेर उहाँको योजना बिफल पारि पदियौं । उहाँहरुले पटक पटिक तर्साउन खोज्नु हुन्छ तर चिहानमा पुगिसकेको प्रेत फेरी व्यूँतिएर तर्साउन त खोज्ला तर खान सक्दैन भन्ने विश्वास मेरो छ ।

निर्वाचन प्रणाली पूरानो छ विधायक विकासे काममा रुमल्लिए

नेपालको निर्वाचन प्रणालीको समस्याको कारण विधायकहरु विकासे काममा रुमल्लिनु पर्ने अवस्थामा छौं । किनभने निर्वाचन प्रणाली त्यस्तै छ । पूरानो संरचना भएकोले अवस्था त्यस्तै सिर्जना हुने गरेको छ । जनता प्रत्यक्ष निर्वाचित गर्ने अधिकार प्रयोग गर्ने हैसियतमा प्ुग्नु पथ्र्यो तर त्यो भएको छैन । अहिले त हाम्रो अवस्था एउटा आमा समूहले कुलो बनाईदे भनेर आयो भने उतैतिर जानुपर्ने वाध्यता रहेको छ । विकास निर्माणसंग जोडिने कि, हामीले वजेट माग्ने किन निीति नियम बनाउने, खोज, अध्ययन र छलफल गर्ने ?

संसदलाई हेरौं, प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद भएको अनुभूतिहरु सुनिएकै छन् । हामीले पहिलो कुरा भोट भाग्ने सिस्टमलाई बदल्नुपर्छ । यसका लागि काूनन बदल्नु पर्छ संविधान संशोधन गर्नुपर्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जानै पर्छ । कार्यकारी राष्ट्रपतिमा जानै पर्छ । स्वार्थ मिल्नेहरुको कारण, बहुमत भएको कारणले उहाँहरुले परिवर्तनलाई धरापमा पार्नुु हुन्छ कि भनेर जे छ त्यसैमा सकेसम्म थोरै प्रगतिशिल बनाएर अगाडी वढाएको हो तर हामीले चाहेको यत्ति होईन । अहिले पनि जातिय विभेद, महिला, जनजाती, मधेशी, थारु हरेक क्षेत्रमा उत्पिडन र उपेक्षा छ, हो हामीले संविधानमा यि कुराहरु ग्यारेन्टी गर्नका लागि लडाँई जारि राखेका छौं, रोकेका छैनौं ।

सबैलाई अधिकार सम्पन्न बनाउनु पर्छ । बनाउन नसक्दा विभिन्न घटनाक्रमहरु घटिरहन्छन् । हाम्रो उदेश्य सबैलाई अधिकार सम्पन्न बनाउने भएकोले हामी त्यहि अधिकार प्राप्तिको लागि लागिरहेका छौं अनि हिमाल, पडाड र तराई, मधेशलाई एकसाथ जोडेर अगाडी वढाईरहेका छौं । यसो भयो भने न सबै अनुहारहरु हाँसेको, पहिचान प्रष्ट भएको नेपाल देख्न पाईन्छ, होईन र ?
हरिशरण आचार्य
प्रदेश सभा सदस्य, गण्डकी प्रदेश
पोखरा ।

Facebook Comments