अमेरिकामा २६ हजार भन्दा बढीको मृत्यु, संक्रमितको संख्या ६ लाख भन्दा माथि

एजेन्सी बैशाख ३

नोवेल कोरोना भाइरसको संक्रमण तथा त्यसबाट हुने कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा यसको कहर अझै कम हुने संकेत देखिएको छैन ।मंगलबार एकै दिन दुई हजार भन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २६ हजार भन्दा बढी पुगेको छ । मंगलबार २४ सय भन्दा बढीको मृत्यु भएसँगै कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउनेको कुल संख्या २६ हजार ४७ पुगेको हो ।

यस्तै संक्रमितको संख्या पनि ६ लाख भन्दा माथि पुगेको छ । अहिलेसम्म अमेरिकामा ६ लाख १३ हजार भन्दा बढी संक्रमित भएका छन् । पछिल्ला धेरै दिनदेखि हरेक दिन २५ हजार भन्दा बढी नयाँ संक्रमित थपिरहेका छन् ।इपिसेन्टर न्यूयोर्कमा मंगलबार थप ७७८ जनाको मृत्यु भएसँगै राज्यमा ज्यान गुमाउनेको कुल संख्या १० हजार ८३४ पुगेको छ । यस्तै त्यहाँ संक्रमितको संख्या दुई लाख तीन हजार भन्दा बढी पुगेको छ । यस्तै न्यू जर्सीमा अहिलेसम्म २८ सय पाँच, मिसिगनमा १७ सय ६८ तथा लुजियानामा एक हजार १३ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि बढी प्रभावित भएको इटालीमा अहिलेसम्म २१ हजार ६७ जनाको मृत्यु भएको छ । मंगलबार एकै दिन इटालीमा ६०२ जनाको मृत्यु भएको हो । इटालीमा कुल संक्रमितको संख्या एक लाख ६२ हजार भन्दा माथि छ ।यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १८ हजार २५५ तथा संक्रमितको संख्या एक लाख ७४ हजार भन्दा धेरै रहेको छ । फ्रान्समा १५ हजार ७२९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म एक लाख ४३ हजार भन्दा बढी संक्रमित भएका छन् ।विश्वभर हालसम्म कोभिड–१९ बाट एक लाख २६ हजार ५९६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख ९७ हजार ६२० रहेको छ । अहिलेसम्म विश्वभर चार लाख ७८ हजार ४२५ जना निको भएर घर फर्किएका छन् । एजेन्सीको सहयोगमा

Facebook Comments