“अपांगता भएकाहरुलाई समाजमै पुर्नस्थापना र घुलमिल गराउनु पर्छ, ग्राम बनाएर राख्नु मानवअधिकार विरुद्ध हुन्छ” :केशी र गुरुङ(video)

आरजू, पोखरा, मंसिर २५

अपांग महिला सशक्तिकरण कास्कीका अध्यक्ष अञ्जना केशीले अपांगता भएकाहरुको लागि अझैं पनि निर्माणका क्षेत्रमा मैत्रीपूर्ण निर्माण गर्नमा ध्यान नदिईएको बताउनु भएको छ ।

अपांगता भएकाको तर्फबाट प्रतिनिधिहरुसंगको अनुभव साटफेर गर्न हरियोखर्क पुगेको रेडियो अन्नपूर्णबाट प्रशारण भईरहेको नेपाल रेडक्रस सोसाईटीको उत्थानशिल समुदाय निर्माणमा रेडक्रस कार्यक्रमको टोलीसंग बुधवार केशीले भन्नुभयो :“पहिले त भएनन् भएनन्, अहिलेपनि कतिपय निर्माण क्षेत्रका भौतिक निर्माण अपांग मैत्री छैनन्, यसतर्फ ध्यान दिन जरुरी छ ।”

केशीले सरकारले अपांगता भएका व्यक्तिहरुको लागि कार्यान्वयन तहमा लैजाने गरि कार्यक्रम बनाउन आवस्यक भएको बताउनु भयो । सरकारले कास्कीमा अपांग ग्राम बनाउने बताईरहेको बेलामा केहि परिवर्तनको आशा गरिएको तर कुनै कुनामा लगेर राखिने वाध्यकारी भूमिका निभाउन खोजेको हो भने त्यो सोचनिय कुरा भएको बताउनु भयो ।

by:aarju

हामीसंग धेरै कुराहरु छन्, ति सबै अपांगता भएकाहरुको सशक्तिकरणकै कुरा हुन । तर कता कता गुनासा मात्रै गरेको होकि जस्तो लाग्न सक्छ वास्तविक त्यो होईन । अपांगता भएका व्यक्ति त समाजमै घुलमिल भएर बस्न चाहन्छन्, केशीले भन्नुभयो :“ग्राम बनाउनु ठूलो कुरा होईन बरु उनिहरुको पहुँच, शिक्षा, रोजगार र अन्य विषयहरु समेटेर समाजमै अन्य सरह बाँच्न पाउने बहुपक्षिय ढंगले सोच्नुपर्छ र यस्का लागि बहस पैरवी गर्न जरुरी भएको छ ।”

स्वावलम्वन जिवन पद्धतीका केन्द्रका अध्यक्ष हेम गुरुङले समाजमा सकारात्मक र नकारात्मक क्रियाकलाप हुन्छन्, हाम्रा पनि धेरै समस्याहरु छन्, अपांगता भएका व्यक्तिहरु सिमान्तकृत हुन, यो व्यक्तिगत मात्र नभई राष्ट्र र समाजको जिम्मेवारीको कुरा भएको बताउनु भयो ।

अपांगता भएकाको अधिकारलाई ओझेलमा पारिएको छ । यो त मानवअधिकारको सवाल हो । गुरुङले भन्नुभयो :“ विश्वव्यापी घोषणा पत्र, अन्तराष्ट्रिय कानून र नेपालको ऐन कानूनले पनि अपांगता भएकाहरुलाई सामाजिक मूलप्रवाहिकरण, समावेसीकरण र अर्थपूर्ण सहभागिता भनेर प्रष्ट पारेको कुरालाई हामीले उठाएका हौं ।”

अन्तराष्ट्रिय मान्यतालाई हेर्ने हो भने अपांगता भएकाहरलाई कुनै ठाउँमा लगेर राख्ने कुरा विश्वव्यापि मान्यता विरुद्धको काम हो । मानवअधिकार हनन् हुने भएकोले दीर्घकालिन रुपमा त्यस्तो कुनै गृहमा राख्ने हो भने व्यक्तिगत स्वतन्त्रता र सामाजिक स्वतन्त्रताबाट अपांगता भएकाहरु बिमुख हुन्छन्, गुरुङको भनाई छ ।

अल्पकालको लागि राम्रो माएिपनि कुनै स्थानमा गएर बस्ने कुरा जिन्दगीभर बिताउने भन्ने हो भने दूर्भाग्य हुने गुरुङको भनाई थियो । हामीसंग विकल्प छन् हामी दिन्छौं, उहाँले भन्नुभयो :“समाजमा बस्नेगरि सरकारले व्यवस्था र अनुदान मिलाईदिए उचित हुन्छ, अपांगता भएकालाई समुदायमा घुलमिल गराएर बस्न राम्रो र पक्का समावेसी त्यहि नै हुन्छ ।” कार्यक्रममा रेडक्रस कास्कीका सिल अधिकृत नवराज भण्डारीले सहजिकरण गर्नुभएको थियो ।

Facebook Comments