अन्नपूर्णकर्मी दीपेन्द्र श्रेष्ठ काठमाण्डौमा सम्मानित, विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ प्रदान

अन्नपूर्णअनलाईन/पोखरा, कार्तिक १६-रेडियो अन्नूर्ण ९३.४ का प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठलाई ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ प्रदान गरिएको छ ।

शनिबार काठमाडौँको राष्ट्रिय नाचघरमा आयोजना भएको ‘बिन्ध्यबासिनी संगीत एवं सम्मान साँझ २०७६’ मा पत्रकारिता मार्फत नेपाली गीत, संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मान गरिएको हो ।

श्रेष्ठ विगत २५ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनु भएको छ । श्रेष्ठलाई नगद पन्ध्र हजार रुपैयाँसहित, दोसल्ला र सम्मान पत्रले वरिष्ठ संगीतकार दीपक जंगम तथा विन्ध्यवासिनी म्यूजिक प्रा.लि का अध्यक्ष लीना शर्मा रेग्मीले सम्मान गर्नुभएको हो ।

यसअघि २०७२ सालमा रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका समाचार प्रमुख आर्जु विष्ट सल्यानीलाई समेत यो सम्मान प्रदान गरिएको थियो ।

काठमाडौँमा विन्ध्यवासिनी म्यूजीक तथा विन्ध्यवासिनी फाउण्डेसनले आयोजना गरेको विन्ध्यवासिनी म्यूजीक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा सम्मान कार्यक्रममा पत्रकार श्रेष्ठलाई सम्मानित गरिएको हो ।

सोही कार्यक्रममा वरिष्ठ गायक दीपक खरेललाई नगद ५० हजार रुपैयाँ सहित विन्ध्यवासिनी संगीत साधना सम्मान २०७६ र संगीतकार तथा गायक हरी लम्साललाई नगद पच्चिस हजार रुपैयाँ सहित विन्ध्यवासिनी संगीत रत्न सम्मान २०७६ बाट सम्मानित गरिएको थियो ।

विविध सांस्कृतिक तथा साङ्गितिक प्रस्तुतीहरु सहित आयोजना गरिएको कार्यक्रममा ‘विन्ध्यवासिनी म्यूजीक अवार्ड २०७६’ का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको थियो । विन्ध्यवासिनी म्यूजीक अवार्डमा कुल ३१ विधा समावेश गरिएको छ ।

स्मरण रहोस् विन्ध्यवासिनी म्यूजिक अवार्ड मंसिर १४ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने अध्यक्ष लीना शर्मा रेग्मीले बताउनु भयो ।

Facebook Comments